बझाङ — लामो समयदेखि इजाजतविनै औषधि बिक्री तथा उपचार गर्दै आएका मेडिकलहरूलाई जिल्ला प्रशाशन कार्यालयले कारबाही गर्न थालेको छ। प्रशाशनले यस्ता मेडिकलहरूमा शिलबन्दी गर्न थालेको छ।
शनिवार मात्रै केदारस्युँ गाउँपालिका–१, झोता बजारमा २७ वर्षदेखि अवैधरुपमा संचालनमा रहेको शुलभ क्लिनिकमा शिलबन्दी गरिएको थियो। जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र केदारस्यूँ गाउँपालिकाका जनप्रतिनिधिको टोलीले उक्त मेडिकलमा शिलबन्दी गरेको हो।
अनुगमनका क्रममा क्लिनिकमा ठूलो परिमाणमा औषधि राखिएको भए पनि दर्ता नभएको, औषधि बिक्री गर्ने व्यक्ति मान्यता प्राप्त फार्मेसिष्ट नभएको र मेडिकलमा आयुर्वेदिक, डेन्टललगायत अन्य किराना पसलका सामान पनि बिक्रीका लागि राखिएको पाइएको थियो।
केही दिनअघि जयपृथ्वी नगरपालिका, खप्तडछान्ना र बुंगल नगरपालिकाका मेडिकलमा पनि यसै गरि सिलबन्दी गरिएको थियो । ती मेडिकलहरूमा प्रतिबन्धित औषधि पनि बिक्रीका लागि राखिएको भेटिएको थियो ।
बझाङ जिल्लाभर अधिकांस औषधि पसलहरू अवैधरुपमा संचालन भइरहेको, नक्कली स्वास्थ्यकर्मीले उपचार गर्दा कतिपयको ज्यान नै जानेको गरेको छ । दुरदराजका गाउँमा मात्रै नभएर नियमनकारी निकायहरूको चौविसै घण्टा निगरानी रहने सदरमुकाममा यस्ता औषधि पसल रहेको र मेडिकल संचालकहरूले लागूऔषधको समेत कारोबार गर्ने गरेको आरोप लाग्ने गरेको छ।
गत माघमा औषधि व्यवस्था विभागको टोली अनुगमनमा आउँदा सदरमुकाम चैनपुर र छविसपाथीभेरा गाउँपालिकाका मेडिकल संचालकहरू अनुगमनको पूर्व सूचना पाएका कारण टोली पुग्नु अगावै औषधि पसलमा ताला लगायर सम्पर्कविहीन भएका थिए।
यसबारे गत माघ २१ गते ‘बझाङको व्यथा : जोखिममा ज्यान' शीर्षकमा कान्तिपुरमा विस्तृत समाचार प्रकाशन भएको थियो । ‘जिल्ला प्रशाशन कार्यालयले यो विषयलाई गम्भिर रुपमा लिएको छ । अब यो अवस्था धेरै दिन रहन्न,' अनुगमन टोलीको नेतृत्व गरिरहेकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले भनिन, ‘औषधि पसल चलाउने हो भने नियम अनुसार चलाउनु पर्यो । नत्र बन्द गर्नुपर्यो।'
उनले जिल्लाका सबै पालिकाहरूमा रहेका औषधि पसलहरूको अनुगमन गर्ने अभियान नै सुरु भएको बताउँदै अवैध रुपमा संचालन भएका मेडिकललाई कानुनी दायरामा ल्याउने र नक्कली स्वास्थ्यकर्मी माथि कारबाही गरिने जानकारी दिइन्।
औषधि व्यवस्था विभागको रेर्कड अनुसार बझाङ जिल्लाभर ३५ वटा मात्रै दर्ता भएका फार्मेसी छन्। तर ३५ भन्दाबढी औषधि पसल जयपृथ्वी राजमार्ग क्षेत्रमा मात्रै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। जिल्लाभरि १५० भन्दा बढी औषधि पसल संचालनमा रहेको र तीमध्ये १५ बढी भारतिय नागरिकहरूले अवैधरुपमा संचालन गरिरहेको अनौपचारिक तथ्याङ्क छ।
यस्ता क्लिनिकहरूले उपचार गरेका कारण विभिन्न खालका स्वास्थ्य सम्बन्धी जटिलता आउने देखि लिएर कतिपयका ज्यानै जाने खालका घटनाहरू समेत पटक पटक सार्वजनिक भइरहेका छन्। यस्ता मेडिकलहरूले गर्ने औषधिको तोकिएको भन्दा निकै चर्को मुल्य लिने गरेको स्थानियको गुनासो छ ।
दशकौं देखि जिल्लामा भइरहेको यो बेथिति नियन्त्रणको प्रयास गर्दा जनप्रतिनिधि, राजनितिक दलका नेताहरूले पनि असहयोग गर्ने गरेको नियमनकारी निकायका अधिकारीहरू नै बताउँछन्। ‘नराम्रो काम गर्नु पर्यो भने यहाँ सबैले एकै स्वरमा दवाव दिन्छन्,' एकजना अधिकारीले भने, ‘राम्रो काम गरौं भन्दा अग्रसर हुनुको सट्टा जिम्मेवारीबाट पन्छिने मात्रै होइन । त्यसो गर्नबाट रोक्नका लागि जिम्मेवार व्यक्तिहरू नै सक्रिय हुने गरेका छन्।'
यता प्रमुख जिल्ला अधिकारी कैलास ठकुराठीले भने कुनै पनि दवावका कारण यो अभियान नरोकिने बताए । ‘थुप्रै ठाउँबाट नक्कली स्वास्थ्यकर्मी र अवैध मेडिकल रहेको, लागु औषधहरू बिक्री भइरहेको गुनासो आएका छन् । तीनलाई कारबाही गर्न यो अभियान सुरु गरेका हौँ,' उनले भने, ‘गलत काम गर्नेलाई कारबाही हुन्छ । कसैको दबाव र प्रभावलाई हामी वास्ता गर्दैनौँ।'
उनले आफ्नो गाउँ ठाउँमा यस्ता मेडिकल भए जानकारी दिएर सहयोग गर्न स्थानीयलाई अनुरोध समेत गरिएको बताए ।
