बझाङमा भीषण असिनापानी : स्याहार्नै पाएनन् पाक्नै लागेको खाद्यान्न बाली

वैशाख ८, २०८२

वसन्तप्रताप सिंह

Severe hailstorm in Bajhang: Food crops that are about to ripen could not be nursed

बझाङ — शनिबार साँझ आएको भीषण असिनापानीले बझाङ जिल्लाभर बालीनालीमा ठूलो क्षति गरेको छ । हिउँदेबाली भित्र्याउने तरखरमा रहेका किसानको बाली असिनाले क्षति गरेपछि खाद्यान्न अभावको चिन्ता बढेको छ ।

झण्डै एक घण्टासम्म परेको असिनापानीले सबैभन्दा ठूलो क्षति पाक्नै लागेको गहुँ, जौ र मसुरोमा भएको छ । यस्तै आँप, ओखर, स्याउजस्ता बर्खे फलफूलमा पनि असिनाले क्षति गरेको विभिन्न पालिकाका किसानले बताएका छन् । 

‘बालीनाली त सबै माटोमा मिसायो । छ्वाली र नल पनि काम नलाग्ने गरी भाँचिएको छ । अरू त अरू हरिया रुखका पात पनि बाँकी छैनन्,’ मष्टा गाउँपालिका बाडेगाउँका लोकेन्द्र कठायतले भने, ‘मेरो खेतमा कम्तीमा पनि ११ क्विन्टल गहुँ र जौ फल्थ्यो । अहिले एक क्विन्टल पनि बाँकी छ जस्तो लाग्दैन । अरूको पनि त्यस्तै भएको छ ।’ उनले १२ जनाको परिवार अब कसरी पाल्ने भन्ने चिन्ता लागेको बताए । 

‘यस्तो असिना त यसअघि कहिल्यै पनि देखेको थिइनँ । पाकेको हिउँदेबाली, तरकारी, फलफूल केही पनि बाँकी छैन,’ मष्टा गाउँपालिकाका कर्मचारी भक्त कठायतले भने, ‘अब भोकमरी हुने चिन्ताले किसान शोकमा परेका छन् ।’ उनले पालिकाभरिमा कति क्षति भयो भन्ने यकिन तथ्यांक संकलन गर्ने काम भैरहेको बताए । Severe hailstorm in Bajhang: Food crops that are about to ripen could not be nursed

भीषण असिनापानीले मष्टा, तलकोट, थलारा, वित्थडचिर, खप्तडछान्ना, सूर्मा, दुर्गाथली छबिसपाथिभेरा, केदारस्यूँ, साइपाल गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका विभिन्न ठाउँमा बालिनालीमा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र बझाङका सूचना अधिकारी अर्जुन खड्काले बताए । उनले जिल्लाभरि बेमौसमी तरकारी खेती गर्नका लागि निर्माण गरिएका दर्जनौं प्लास्टिक घरमा पनि क्षति पुगेको बताए । Severe hailstorm in Bajhang: Food crops that are about to ripen could not be nursed

‘जौ र गहुँ बालीमा ७० प्रतिशतजति क्षति पुगेको छ । कुनैकुनै ठाउँमा त बालामा एक दाना पनि बाँकी छैन,’ खड्काले भने, ‘कति क्षति भएको रहेछ भन्ने त विवरण आएपछि थाहा होला । तर यसले जिल्लाको वर्षभरिको खाद्य सुरक्षामा असर गर्ने चाहिँ पक्का छ ।’ उनले असिनाले बाली सखाप पारेका विभिन्न पालिकाका किसान क्षतिपूर्तिको माग गर्दै ज्ञान केन्द्रमा आउन थालेको जानकारी दिए ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully