कमलबजार विमानस्थलबाट व्यावसायिक उडान सुरु

सातामा एक दिन नेपालगन्ज-अछाम उडान हुने

वैशाख ७, २०८२

मेनुका ढुंगाना

Commencement of commercial flights from Kamalbazar Airport

अछाम — अछामको कमलबजार विमानस्थलबाट पहिलोपटक आइतबारदेखि व्यावसायिक उडान सुरु भएको छ । तत्कालीन विद्रोही माओवादीको आक्रमणमा २०५८ सालमा कमलबजार विमानस्थल ध्वस्त भएको थियो । विमानस्थलमा गत पुस १३ गते तारा एयरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले परीक्षण उडान गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले आइतबार विमानस्थलको उद्घाटन गरेका हुन् । कैलालीको टीकापुर र अछामको कमलबजारलाई हवाई दुरीबाट नजिक गराउन पहल भइरहेको उनले बताए ।  ‘टीकापुर विमानस्थलबाट अछामको रामारोशनसम्म पर्यटकलाई भित्र्याउन योजना बनाउनुपर्नेछ,' उनले भने, 'विमानस्थल कालोपत्र गर्नुपर्नेछ ।’

कमलाजबजार  विमानस्थल सञ्चालनका लागि प्राविधिकसहित ४ कर्मचारी आवश्यक पर्ने र सोको व्यवस्थापन कमलबजार नगरपालिकाले गर्ने नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए । उनका अनुसार ग्राभेल मात्रै भएको विमानस्थलमा नै सातामा एक दिन २५ मिनेटको हवाई दूरीमा रहेको नेपालगन्जसम्म उडान गरिने भएको छ । ‘ लामो प्रयासपछि उद्घाटन गर्न सफल भएका छौं । अब निरन्तरता दिनका लागि सबैको सहयोग आवश्यक छ,’ नगर प्रमुख ढकालले भने, ‘विमानस्थल सञ्चालनका लागि आवश्यक कर्मचारी नगरपालिकाले भएकै कर्मचारीबाट व्यवस्थापन गर्नेछ । टावरका लागि काम गर्ने दुई कर्मचारीलाई तारा एयरलाइन्सले तालिम दिने सम्झौता भइसकेको छ ।’Commencement of commercial flights from Kamalbazar Airport

विमानस्थल नियमित सञ्चालनका लागि आर्थिक समस्या पर्ने भएकाले कमलबजार विमानस्थलबाट लाभ लिनसक्ने अन्य पाँच स्थानीय तहले आर्थिक सहयोग गर्ने सम्झौता पनि भइसकेको उनले बताए ।  उनका अनुसार मंगलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन, ढकारी, तुर्माखाँद गाउँपालिकाले आर्थिक सहयोग गर्नेछन् । विमानस्थल सञ्चालनका लागि आवश्यक खर्चको १०/१० प्रतिशत गरी ५० प्रतिशत ५ स्थानीय तहले बेहोर्ने र कमलबजार नगरपालिकाले ५० प्रतिशत खर्च बेहोर्ने सम्झौता भएको उनले बताए ।

विमानस्थल निर्माणको काम २०४९ सालदेखि सुरु भएको थियो । उपभोक्ता समितिबाट विमानस्थल निर्माणको काम भइरहेको अवस्थामा माओवादीले टर्मिनल भवन भत्काएको थियो । त्यसपछि लामो समयसम्म गौचरणमा परिणत विमानस्थल स्तरोन्निका लागि २०७९/८० मा संघीय सरकारले १ करोड ५० लाख बजेट विनियोजन गरेपछि ग्राभेल गरिएको थियो ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully