घोडाघोडीका निवर्तमान वडाध्यक्षको मृत्यु : सुसाइड नोटमा राजनीतिप्रति पीडा व्यक्त

वैशाख ४, २०८२

रञ्जना बिसी

Death of the outgoing Ward President of Ghodaghodi: Suicidal note expresses pain towards politics

कैलाली — कैलालीको घोडाघोडी नगरपालिका–९ का निवर्तमान वडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको छ।

बिहीबार बिहान साढे ९ बजे घरबाट निस्किएका शाह दिउँसो करिब १ बजे सिमली खोलानजिकै गम्भीर अवस्थामा फेला परेका थिए। सल्फास नामक विषादीको खाली डब्बा र एउटा डायरीसँगै उनलाई इलाका प्रहरी कार्यालय सुखडको टोलीले फेला पारेको हो। स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरी टोली जंगलतर्फ गएको थियो।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले शाहलाई गम्भीर अवस्थामा भेटिएको र तत्काल उद्धार गरेर घोडाघोडी अस्पताल पुर्‍याइएको बताए। अस्पतालमा डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए। अहिले शाहको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी ल्याइएको छ।

शाहका साथमा भेटिएको डायरीमा लेखिएको सुसाइड नोटमा उनले परिवारका सदस्यलाई सम्बोधन गर्दै भावना पोखेका छन्। सुसाइड नोटमा उनले राजनीतिप्रतिको गहिरो पीडाभाव पनि व्यक्त गरेका छन् । सुसाइड नोटमा उनले आफ्ना दाजुलाई राजनीतिमा नआउन आग्रह गरेको पनि भेटिएको प्रही स्रोतले जनाएको छ। हस्ताक्षर र मिति पनि उल्लेख गरिएको सुसाइड नोटको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट वडा नम्बर ९ मा विजयी भएका शाह हाल नेकपा एमाले घोडाघोडी नगर कमिटीका उपाध्यक्ष थिए।

रञ्जना बिसी

Link copied successfully