धनगढी — कैलालीको अत्तरीयामा इलाका प्रहरी कार्यालय छेउको मन्दिर परिसरमा मृत भेटिएका एक युवकको हत्या चार सय रुपैयाँ चोरीको आरोपमा गरिएको प्रहरीले जनाएको छ।
चैत २९ गते अत्तरीयास्थित दुर्गा मन्दिरको परिसरमा डडेलधुरा घर भएका ३५ वर्षीय जगदीश कैनी मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अवस्था अत्यन्तै नचिनिने गरी शव भेटिएको थियो। बिहीबार इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत घटनाको विवरण सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा बैतडीको डिलासैनी गाउँपालिकाका हेमन्तबहादुर बोहरा पक्राउ परेका छन्। उनले कैनीको हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ।
इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार चार सय रुपैयाँ हराएको विषयलाई लिएर हत्या भएको हो। '२६ चैतको राति दुर्गा मन्दिर परिसरमै मृतक कैनी र आरोपित बोहरा सुतिरहेका थिए,' डीएसपी थापाले भने, 'बोहराको खल्तीमा रहेको चार सय रुपैयाँ हराएपछि कैनीले चोरेको आशंका गरेका रहेछन्। त्यसै कारण ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको बयान बोहराले दिएका छन्।'
प्रहरीका अनुसार मन्दिरमै हत्या गरी शव घिसारेर मन्दिर पछाडिको खाली जमिनमा फालिएको थियो। पूर्वसशस्त्र प्रहरी समेत रहेका बोहरा अत्तरिया र धनगढी क्षेत्रका विभिन्न होटलमा काम गर्दै आएका थिए। घटनापछि उनी धनगढी गएका थिए र त्यहाँ चौलानी होटलमा एक सातासम्म काम गरेका थिए। बुधबार होटल छोडेर अत्तरिया फर्किएका बेला मदिरा सेवन गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी थापाको नेतृत्वमा सात सदस्यीय टोलीले गरेको थियो। अनुसन्धान टोलीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक सुशील चन्द र पदम थापा समेत सहभागी थिए।
