कैलाली — सुदूरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा आजदेखि धनगढीमा ‘प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१’ सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका छन् ।
सुदूरपश्चिमका नौवटै जिल्लाबाट सहभागी ७०० खेलाडी तथा प्रशिक्षक र निर्णायकसहित झण्डै ८०० जनाको उपस्थिति रहेको प्रतियोगिता भोलि २९ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार सीमित बजेटका बाबजुद पनि खेलकुद क्षेत्रमा लगानी बढाउँदै गएको उल्लेख गरे । उनले खेलकुदको विकास र प्रोत्साहनमा प्रदेश सरकार दृढ रहेको पनि बताए ।
कार्यक्रममा कराते महासंघका संस्थापक अध्यक्ष दावा गुरुङले खेलाडीहरूलाई स्पष्ट लक्ष्यसहित अघि बढ्न आग्रह गर्दै सशक्त तयारीका साथ भविष्य निर्माण गर्न प्रेरणा दिए । प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तले खेलाडीहरूले ठूला मानिस मात्र नभई असल मानिस बन्नुपर्नेमा जोड दिए ।
समारोहमा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कराते खेलाडी ललित खत्रीलाई उत्कृष्ट पुरुष खेलाडी र अन्तर्राष्ट्रिय कराते खेलाडी वर्षा साउँदलाई उत्कृष्ट महिला खेलाडी घोषित गरिएको छ । त्यस्तै, बबरजङ्ग शाहीलाई उत्कृष्ट स्वयंसेवक प्रशिक्षकको रूपमा सम्मान गरिएको थियो भने कर्णबहादुर चन्दलाई 'लाइफ टाइम एचिभमेन्ट अवार्ड' प्रदान गरिएको थियो।
चारै जना सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
