अछामको जयगढका अग्नि पीडितलाई प्रदेश सरकारले ५० लाख दिने

थप अध्ययन गर्न दुई जना प्रदेश मन्त्री पठाइँदै

चैत्र २७, २०८१

अर्जुन शाह

The state government will give 50 lakhs to the fire victims of Jaigarh in Achham

धनगढी — मंगलबार राति अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भएको आगलागीबाट पीडित परिवारहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले आगलागी पीडितहरुलाई ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले प्रारम्भिक क्षतिको विवरणका आधारमा ५० लाख सहयोग गर्ने निर्णय गरिएको बताए ।

The state government will give 50 lakhs to the fire victims of Jaigarh in Achhamफोटो सौजन्य : धनराज साउद 

‘उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट बान्निगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराइने छ,’ मुख्यमन्त्री शाहले भने, ‘गाउँपालिकाले मानवीय सहायता सम्बन्धी मापदण्ड बनाएर राहत उपलब्ध गराउने छ ।’ क्षतिको पूर्ण विवरण प्राप्त भएपछि प्रदेश सरकारले थप सहयोग गर्ने मुख्यमन्त्री शाहले बताए ।

प्रदेश सरकारले स्थलगत अवस्था बुझ्नका लागि सामाजिक विकासमन्त्री मेघराज खड्का र आन्तरिक मामिलामन्त्री हीरा सार्कीलाई जयगढ पठाउने निर्णय गरिएको मुख्यमन्त्री शाहले जानकारी दिए ।

मंगलबार राति ७ बजे ग्यास सिलिन्डरबाट सल्केको आगोले भीषण रूप लिएर २७ घर जलेर पूर्णरूपमा नष्ट भएको अछाम प्रहरीले जनाएको छ । आगलागी पाँच घन्टापछि नियन्त्रणमा लिइएको थियो ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully