मालिकार्जुन गाउँपालिकामा आज शोक बिदा

चैत्र २६, २०८१

मनोज बडू

Mourning holiday today in Malikarjun Rural Municipality

दार्चुला — सिनियर अहेव दिनेशप्रसाद जोशीको निधनमा मालिकार्जुन गाउँपालिकामा मंगलबार शोक बिदा दिइएको छ । मालिकार्जुन गाउँपालिका–६ मा रहेको उकु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी जोशीको सोमबार उपचारका क्रममा निधन भएको थियो । 

सोमबार बिहान ११ बजे स्वास्थ्य चौकीमै बेहोस भएर लडेका जोशीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा मालिकार्जुनको पस्ती आधारभूत अस्पतालमा निधन भएको मालिकार्जुन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह धामीले बताए । 

धनगढी लैजाने क्रममा पस्ती पुग्दा जोशीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि पस्ती आधारभूत अस्पतालमा लगिएको र डाक्टरले मृत घोषित गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत धामीले बताए ।

मालिकार्जुन गाउँपालिकाभित्र अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू मंगलबार बन्द रहने छन् । जिल्लाकै लेकम गाउँपालिका–३ मकन्ना पुर्ख्यौली घर भएका जोशीको परिवार हाल कञ्चनपुर बस्दै आएका छन् ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully