बलात्कारको आरोपमा पक्राउ

चैत्र २६, २०८१

मेनुका ढुंगाना

Arrested for rape

अछाम — जन्मजात दृष्टिविहीन २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रामारोशन गाउँपालिका ५— का ५१ वर्षीय चेतमान रोकायालाई अछाम प्रहरीले पक्राउ गरेको छ । 

महिलाको स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ देखिएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।  ‘दृष्टिविहीन ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी आउनेबित्तिकै पक्राउ गरिसकेका छौं,’ उनले भने, ‘ती महिला २८ हप्ताको गर्भवती भएको खुलेको छ । बाँकी अनुसन्धान भइरहेको छ ।’ 

पक्राउ परेका रोकाया दाहिने खुट्टाको अपांग भएको र महिला दृष्टिविहीन भएकाले अपांगता भएकाहरुको विभिन्न कार्यक्रममा जाने क्रममा रोकायाले डर धम्की देखाएर बलात्कार गरेको हुन सक्ने उनले बताए । 

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन , २०७५ अनुसार जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मञ्जुरीले २८ हप्ताभित्र गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ । तर जिल्ला अस्पताल अछाममा २८ हप्तासम्मको गर्भपतन गर्ने सुविधा नभएकाले नेपालगन्ज, धनगढीका अस्पतालमा गर्भपतनका लागि रेफर गर्नु पर्ने अवस्था रहेको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाजले बताए ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully