दल्लेख गाउँमा खानेपानीको हाहाकार

पानी भर्न तीन-चार घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता

चैत्र २४, २०८१

मोहन पनेरु

Water crisis in Dallekh village

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–९ र सायल गाउँपालिका–५ को बीचमा पर्छ दल्लेख गाउँ । सायल–६ को यो गाउँको बीच भाग भएर कच्ची सडक बनेको छ । सडकमाथि रहेको दलित समुदायको बस्तीमा १८ घरधुरी छन्।

सडकमूनितिरको हिमालय माध्यामिक विद्यालयमा पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयको तलतिर साउनकाँडा गाउँमा ४० परिवारको बसोबास छ । यी दुई बस्तीका ५८ परिवार र हिमालय माविका पाँच सय विद्यार्थीलाई सधैं पानीको जोहो गर्ने पिरलो छ ।

सडकको छेउमा लेकबाट ल्याएको एउटा सानो धारा छ । उक्त धारोमा २० मिनेटमा मुस्किलले १० लिटर पानी आउने गरेको स्थानीय बताउँछन् । १० लिटर पानी भर्नका लागि पनि दल्लेखकी भगु दमाईले आउनजान १ घण्टा हिँड्नु पर्छ ।

‘यी दुई गाउँ र विद्यालयका लागि एउटा मात्रै धारा छ । यही पानीका लागि ३ देखि ४ घण्टासम्म लाईनमा बस्नु पर्छ । बिहान ४ बजे आउन सके मात्रै छिटो पालो पाइन्छ,’ उनले भनिन्,‘नेताहरू भोट माग्दा मात्रै कुरा सुने जस्तो गर्छन् । पानीका लागि वडाअध्यक्ष र गाउँपालिका अध्यक्षसँग कुरा राख्दा राख्दा थाकिसके ।’

स्थानीयले आफ्नै सक्रियतामा खप्तड जाने बाटोमा पर्ने लेकबाट पाइप लगाएर गाउँसम्म ल्याएको एक धारा पानी दुई वटा बस्ती र विद्यालय गरी तीन ठाउँमा बाँड्ने गरेका छन् । साँझ–बिहान दुवै बस्तीमा आलोपालो गर्ने र दिउँसो केही सयम विद्यालयको लाइनमा दिने गरेका छन् ।

परिवारमा एक जनाको दिनभरको काम पानी भर्ने मात्रै हुने गरेको सोही गाउँकी तारा दमाई सुनाउँछिन् । ‘दलित समुदायको बस्तीलाई त गाउँ नै मानेका छैनन् । हामीलाई पानीको धेरै सास्ती छ,’ शुक्रबार धारामै लाइन बसेकी उनले भनिन्, ‘यो पानी खानलाई मात्रै होइन, सरसफाइ र चौपायाका लागि पनि पुर्‍याउनु परेको छ ।’

बर्खामा केही सहज भए पनि नजिक अर्को स्रोत नहुँदा हिउँद र गर्मी सिजनमा पानीका जोहो गर्न सास्ती भइरहेको उनीहरू बताउँछन् । हिमालय माविका दल्लेखका प्रध्यानाध्यापक हेमराज दहालले भने,‘यो ठाउँमा पानीको धेरै समस्या छ । पानीकै समस्याले विद्यार्थीको पढाइ समेत प्रभावित हुने गरेको छ । हामीले सम्बन्धित निकायहरूमा कुरा राखेका छौं । अब हेरौं के हुन्छ कि ।’

चुनावका बेला आएका नेताहरूले सबै गाउँमा पक्की सडक र टोलटोलमा खानेपानीको धारा बनाइदिने बाचा गर्दै आए पनि अहिलेसम्म पूरा नगरेको धारामा लाइन बसेकी अर्की महिला तुली दमाईले बताइन् । उनले भनिन्,‘चुनावका बेलामा हामीलाई भुलाईफकाई भोट माग्छन् । जितेपछि त्यहाँ पनि गाउँ छ र! भन्ने जस्ता कुरा गर्छन् ।’

दल्लेखकी पार्वती दमाई भने आउँदो निर्वाचन अगाडि पानीको व्यवस्था गरिदिनेलाई भोट दिने अभियान चलाउने सोचमा रहेको बताउँछिन् । ‘नेताहरूले जहिल्यै आश्वासन मात्रै दिने भए । अब जसले पानी दिन्छन् २०८४ सालको भोट उसलाई दिनुपर्छ,' उनी भन्छिन्। 

यी दुई बस्तीसहित विद्यालयमा खानेपानीको व्यवस्था गर्न धेरै बजेट चाहिने भएकाले प्रदेश र संघीय सरकारसँग पहल थालिएको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताए । ‘यो वर्ष सोही टोलका लागि गाउँपालिकाबाट सिफारिस गरेर प्रदेश र संघीय सरकारमा दिएका छौं । गत वर्ष यस्तै समस्या भएको वडा नं. २ को खानेपानी योजनामा ८० लाख रुपैयाँ विनियोजन भएर काम सुरु भएको छ । आउँदो वर्ष यहाँको समस्या समाधान गर्न पहल भइरहेको छ ।’

मोहन

Link copied successfully