कैलालीमा भारतीय तीर्थयात्री बोकेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, २७ घाइते

चैत्र १७, २०८१

अर्जुन शाह

Tractor carrying Indian pilgrims crashes in Kailali, one dead, 27 injured

धनगढी — कैलालीमा भारतीय तीर्थयात्री बोकेको ट्र्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको र २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

भारतको लखिमपुर खिरी सिंगाबाट कैलालीमा रहेको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा तीर्थाटन गरेर फर्किंदै गरेका तीर्थयात्रीहरु शनिबार कैलारी गाउँपालिका–५ मनिकापुरमा उनीहरु चढेको ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा भारतको लखिमपुर खिरीका ११ वर्षीय आयुष बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज जोशीले बताएका छन् ।

घाइते अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्‍याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा अन्य २७ जना घाइते भएका प्रहरीले जनाएको छ । तीमध्ये १२ जनाको सेती प्रादेशिक अस्पतालमा र १५ जनाको उपचार धनगढीकै निसर्ग अस्पतालमा भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully