आर्थिक लेनदेनको अडियो बाहिरिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा

चैत्र १६, २०८१

अर्जुन शाह

After the audio of the financial transaction came out, Forest Minister of Far West Choudhary resigned

धनगढी — आर्थिक लेनदेनको आरोप लागेपछि सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार बिहान पदबाट राजीनामा दिएका छन् ।

कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको सयूक्त सरकारमा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका थिए । उनले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आर्थिक लेनदेनको आरोप लागिसकेपछि नैतिकताका आधारमा राजीनामा दिएको दाबी गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।

चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका  छन् । दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रिपरिषद्‌बाट पारित तथा कार्यान्वयन गर्नका लागि व्यापारीहरुबीच मन्त्री चौधरीले आर्थिक लेनदेनको सन्दर्भमा कुराकानी गरेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो । 

अडियोमा उनले नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता, मुख्यमन्त्री लगायतलाई मिलाउन रकम चाहिने भन्दै कुरा गरेका थिए । मन्त्री चौधरीले उक्त अडियो भदौ महिनाको भएको र आफू भर्खरै मन्त्री भएको समयमा केही व्यक्ति भेट्न आएका बेला भएको कुराकानीको रहेको स्वीकार गरेका छन् ।

उनले पार्टीभित्रको आन्तरिक गुटबन्दीको पनि सिकार हुन पुगेको दाबी गरेका छन् ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully