अस्पताल भवनको ठेक्का रद्द गरेर बल्ल आईई

चैत्र १६, २०८१

मेनुका ढुंगाना

After canceling the hospital building contract, IE

अछाम — ५० शैय्याको जिल्ला अस्पताल भवन निर्माणका लागि खोलेको ठेक्का रद्द गरेर दुई वर्षपछि वातावरणीय प्रभाव मूल्यांकन (आईई) सुरु भएको छ । २०७९/०८० मा जिल्ला अस्पताललाई ५० शैय्यामा विस्तार गर्न संघीय सरकारको बजेटमा ५ करोड विनियोजन भएको थियो ।

अस्पतालका लागि २०८०/०८१ मा पनि ५ करोड बजेट विनियोजन भयो । २०८० बैशाख २४ गते अस्पताल भवन निर्माणका लागि बोलपत्र आहृवानसमेत भएको थियो । करिब ५० करोड लागतमा बन्ने भनिएको अस्पताल भवन बहुवर्षीय बजेट सुनिश्चतता नहुँदा निर्माण प्रक्रिया अगाडि बढ्न सकेन ।

चालु आर्थिक वर्षमा पनि अस्पतालको ५० शैय्याको भवन निर्माणका लागि संघीय सरकारले २ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा अस्पतालको भवन निर्माणको काम अघि बढाउनका लागि परामर्शदाता रहेको भागेश्वर विल्डर्स एण्ड कन्सलटेन्ट प्रालि धनगढीले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारको जिम्मा पाएको छ ।

प्रतिवेदन तयार गर्नका लागि सरोकारवालासँग छलफल गरिरहेको र एक महिनाभित्र बुझाइसक्ने परामर्शदाता कम्पनीका इन्भाइरोमेन्ट इन्जिनियर रमन बडेलाले बताए । ‘पहिलेको भवन भएकै ठाउँमा अब बन्ने भवनको लागि आईई प्रतिवेदन तयार गर्न सरोकारवालासँग छलफल गरिरहेका छौं । जतिसक्दो छिटो प्रतिवेदन बुझाउँछौं,’ उनले भने ।

जिल्ला अस्पतालको भवन निर्माणका लागि पटकपटक बजेटमा समेटिने, बोलपत्र आह्वान भइसक्दा पनि विभिन्न बाहानामा काम रोकेको मंगलसेन नगरपालिका-५ का स्थानीय सिद्धप्रसाद ढुंगानाले बताए । ‘स्थानीयको नाताले पूर्वसांसद, जिल्लाका जनप्रतिनिधि सबैलाई झक्झकाएर ३ वर्षदेखि मनत्रालय धाइरहेका छौं । तर पनि कागजात पुगेन भनेर भवन निर्माणको फाइल रोकिन्छ,’ उनले भने,‘अस्पताल व्यवस्थापन समिति र जनप्रतिनिधि पनि जिमेवार भएको देखिदैन । अहिले आईईको प्रतिवेदन तयारीका लागि खटाएको छ । चालु आवमा पनि काम अगाडि बढ्छ जस्तो लाग्दैन ।’

१५ शैय्या सञ्चालनको अनुमति पाएको अस्पतालमा ३५ शैय्या बढी थपेर सेवा दिनु परेको अस्पताल प्रमुख कमलेश यादवले बताए । उनका अनुसार प्रसूति वार्ड, सुरक्षित गर्भपतन गराउने वार्ड, इमरजेन्सी वार्ड र ओपिडि कक्षमा वर्षाको समयमा सेवा प्रवाह गर्न कठिन हुने गरेको छ । ‘अहिले एपेन्डिसाइटिस, हर्नियालगायतका बिरामीको शल्यक्रिया पनि सुरु गरेका छौं । जीर्ण भवनमा जसोतसो व्यवस्थापन गरेर सेवा दिइरहेका छौं,’ उनले भने ।

उनका अनुसार करिब ५० वर्ष अगाडि १५ शैय्याको स्विकृत पाएर स्थापना भएको अस्पतालको भवन अहिले जीर्ण अवस्थामा पुगेको छ । भौतिक संचना जीर्ण हुँदा सेवा प्रवाहमा असहज भएको छ । सुदूरपश्चिमका ९ जिल्ला मध्ये जिल्ला अस्पताल अछामको भवन मात्र अहिलेसम्म बन्न नसकेको हो ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष शिव बोगटीले सघन सहरी तथा भवन निर्माण आयोजना डोटीबाट जिल्ला अस्पतालको भवन बनाउन ४९ करोड विनियोजन गरिएकोमा बजेटको स्रोत सुनिश्चतता नभएको कारण देखाएर काम अगाडी नबढाएको बताए । ४५ करोडमा भवन निर्माणको काम गर्ने ठेक्का भएर रद्द गरेपछि वातावरणीय प्रभाव मूल्यांकन गर्न पठाएको उनले बताए ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully