दार्चुला महोत्सव सुरु

चैत्र १५, २०८१

मनोज बडू

Darchula festival begins

दार्चुला — जिल्ला सदरमुकाम खलंगामा दार्चुला महोत्सव सुरु भएको छ । सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव–२०८१ शुक्रबारबाट सुरु भएको हो । जिल्लाको व्यापार प्रवर्द्धन र कला संस्कृत जगेर्नाका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

‘अपिनाम्पा मालिकार्जुन चौलानी र महाकाली दार्चुलाको शान, स्थानीय उत्पादन कला संस्कृति संरक्षण र प्रवर्द्धनमा हाम्रो अभियान’ नारा दिएर उद्योग वाणिज्य संघ दार्चुलाले आयोजना गरेको महोत्सवको पूर्वमन्त्री एवं एमालेका पोलिटव्युरो सदस्य गणेशसिंह ठगुन्ना उद्घाटन गरेका हुन् । 

जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरू नै पर्यटक लोभ्याउने मुख्य आकर्षक भएकाले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिंहले बताए ।

स्थानीय कृषि पेसा व्यवसाय र सेवा प्रदायकहरूका वस्तु तथा सेवा बिक्री वितरण र यहाँका ऐतिहासिक, पौराणिक, धार्मिक सांस्कृतिक सम्पदाको पहिचान र जानकारी लिन मिल्ने गरी महोत्सवमा स्टलको व्यवस्थापन गरिएको उनले जानकारी दिए । 

आयोजकका अनुसार महोत्सवमा एक सयभन्दा बढी व्यापारिक स्टल राखिएका छन् । महोत्सवको मुख्य आकर्षणका रूपमा महोत्समा दार्चुलाका विविधता झल्किने सांस्कृतिक झाँकी, व्यासी सौका समुदायको विशिष्ट पहिरन सांस्कृतिक र भेषभूषा प्रदर्शनी, दुहु, मार्मा, लेकम र ब्यास क्षेत्रको रहनसहनसहितका खानाका परिकारको बिक्री तथा प्रदर्शनी भइरहेको छ । 

यसै गरी प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, बाल उद्यान लगायत मेलाका कार्यक्रम पनि सञ्चालन हुने छन् ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully