ठेलाचालक रामबहादुरलाई बेलायतमा बस्ने नेपालीबाट सहयोग 

चैत्र १४, २०८१

भवानी भट्ट

Ram Bahadur, a peddler, received help from a Nepali living in the UK

कञ्चनपुर —  ठेला चलाएर जीवन गुजारा गरिरहेका महेन्द्रनगरका रामबहादुर चौधरीको परिवारलाई  सहयोग प्राप्त भएको छ । बेलायतमा चिकित्सा क्षेत्रमा काम गरिरहेका नेपाली युवाले चौधरी परिवारलाई सहयोग गरेका हुन् । 

कान्तिपुर दैनिकमा ‘श्रीमती सुत्केरी हुँदाको ७० हजार रिन छ’ शीर्षकामा चौधरीबारे समाचार प्रकाशित भएपछि उनलाई सहयोग प्राप्त भएको हो । सहयोग प्राप्त भएपछि चौधरी निकै खुसी भएका छन् । 

बेलायतको राजधानी लन्डनस्थित किंग्स कलेज हस्पिटलको लिभर ट्रान्सप्लान्ट सर्जरी विभागमा एक वर्षदेखि कार्यरत डा. युगल लिम्बूले चौधरी परिवारलाई नगद र तीन बालबालिकालाई अध्ययन गर्न दुई वर्षसम्मको खर्च उपलब्ध गराएका हुन् । 

चौधरीलाई नगद ५० हजार र तीन बालबालिका अध्ययन गरिरहेको विद्यालयमा दुई वर्षमा भर्ना र मासिक शुल्क गरी २४ हजार १ सय २० रुपैयाँ प्रदान गरेका हुन् । ‘समाचार पढ्दा निकै भावुक भए, त्यसपछि चौधरी परिवारलाई सहयोग गर्ने भावना आयो,’ ललितपुरको बागडोल घर भई एक वर्षदेखि लन्डनमा कार्यरत लिम्बूले भने, ‘हाम्रा लागि थोरै भए पनि कसैका त्यही कुरा धेरै ठूलो राहत हुन सक्छ ।’

भीमदत्त नगरपालिका-१८ को सुकुम्बासी टोलमा बसोबास गर्ने चौधरीबारे कान्तिपुरमा समाचार प्रकाशित भएको थियो । 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully