नयाँ वर्षका लागि घर फर्किरहेका बाटोमै लुटिए

चैत्र १३, २०८१

भवानी भट्ट

They were robbed on their way home for New Year

कञ्चनपुर — नयाँ वर्ष मनाउन भारतको सिमलाबाट घर फर्किन लागेका एक जना नेपाली कामदार फेरि बाटोमै लुटिएका छन् । सुर्खेतको चौकुने गाउँपालिका–७ का ४० वर्षीय नेत्रबहादुर कामीलाई बाटोमै बेहोस बनाएर लुटपाट गरिएको छ ।

सोमबार सिमलाबाट हिँडेका उनले उत्तराखण्डको हरिद्वारमा खाना खाने बेला दुई जना नेपाली भेटेछन् । उनीहरुले घर जाजरकोट भएको बताउँदै सँगै जाने भनेछन् । त्यसपछि उनी पनि उनीहरुसँगै हरिद्वाबाट सीमावर्ती बजार बनबासासम्म आउने बसमा चढे । हरिद्वारबाट केही समय यात्रा गरेपछि उनलाई उनीहरुले चिसो पेय पदार्थ फ्यान्टा दिए । फ्यान्टा पिएपछि उनी बेहोस भए । 

‘कमाई सबै घर पठाइसकेको थिएँ, बाटो खर्च मात्रै राखेको थिएँ, त्यही पनि लुटेर लगे,’ बुधबार गड्डाचौकीमा अर्धबेहोस अवस्थामा भेटिएका उनले भने, ‘चिसो पिएपछि बिस्तारै बेहोस भएँ, त्यसपछि के भयो केही थाहा छैन ।’ उनीसँग रहेको ६ हजार भारु, ११ नेपाली रुपैयाँ र एउटा मोबाइल लुटिएको उनले बताए । 

बुधबार बिहान बेहोस अवस्थामै बनबासा पुगेका उनलाई त्यहाँका सुरक्षाकर्मीले अटोमा राखेर सीमासम्म पुर्‍याएका थिए । त्यसपछि उनलाई बाटोमै बेहोस देखेपछि नेपाली सुरक्षाकर्मीले उद्धार गरेको हो । 

बिस्तारै होस आएपछि अहिले उनलाई घरसम्म पुग्ने खर्चको व्यवस्थापन गरेर पठाइएको छ । गड्डाचौकीमा स्थापना गरिएको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्चको व्यवस्थापन गरेको हो । 

सिमलामा स्याउ गोडमेलको काम गर्ने उनी दसैंलगत्तै घरबाट गएका थिए । दैनिक ४ सय ज्याला पाइन्थ्यो । उनले महिनैपिच्छे घरमा खर्च पठाउँथे । एक महिनाअघि पनि आफन्तहरु घर फर्किएपछि उनले खर्च पठाएका थिए । आफ्ना लागि बाटो खर्च मात्रै राखेका कारण धेरै लुटिनबाट जोगिएको उनले बताए । 

नयाँ वर्ष नजिकिँदै गर्दा घर फर्किने नेपाली कामदारको भीड बढन थालेको छ । दसैं– तिहार र नयाँ वर्षका बेला घर फर्किनेको भीड हुने भएकाले यही बेला नशालु पदार्थ खुवाएर लुटपाट गर्ने क्रम पनि बढने गरेको छ । खासगरी नेपालीहरुले नै उनीहरुलाई नजिक भएर लुटने गरेका घटनाहरु धेरै बाहिर आउने गरेका छन् । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully