धनगढी — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा डडेल्धुराको डडेलधुरा बहुमुखी क्याम्पस र कैलालीको फुलबारी क्याम्पसको सभापतिमा नेविसंघका उम्मेदवार विजयी भएका छन् ।
डडेल्धुरा क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका गौरव ऐर विजयी भए । उनले कुल खसेको ३७५ मध्ये १८४ मत पाएका छन् । उनको प्रतिस्पर्धीको रुपमा संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामी सभापतिका उम्मेदवार थिए । बोहराले १२८ मत पाए भने स्वतन्त्र उम्मेदवार धामीले ५२ मत पाए । सचिवमा नेविसंघकै बिन्दु साउद र कोषाध्यक्षमा सृजना विष्ट निर्वाचित भएका छन् ।
कैलालीको फूलबारी बहुमुखी क्याम्पसमा नेविसंघकै भुवनराज जोशी विजयी भएका छन् । जोशीले ५३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका आलोक तामाङले ३६ मत पाए । सचिवमा अखिल (समाजबादी) का सीमा विक र कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का सरस्वती विक विजयी भइन् ।
