बजेट अभावको कारण देखाउँदै वर्षाली खोलाको पुल अलपत्र

चैत्र ५, २०८१

मेनुका ढुंगाना

The bridge over Barsali River is standing still due to lack of budget

अछाम — अछामको ढकारी गाउँपालिकालाई सदरमुकामसँगको सडक सञ्जालसँग जोड्ने वर्षाली खोलामा बन्न लागेको पुल अलपत्र बनेको छ । गाउँपालिकाको केन्द्र ढकारीसम्म नियमित बस चले पनि वर्षाको समयमा खोलामा पानीको बहाव बढ्ने भएकाले यातायात अवरुद्ध हुने गरेको छ ।

एक वर्षअगाडि काम सुरु गरेर एकतर्फको पिल्लर हालेको र त्यसपछि निर्माणस्थलमा कामदार नदेखिएको ढकारी गाउँपालिका–८ का चक्र जैशीले बताए ।

‘पालिकाको केन्द्रसम्म बस पुग्ने सडक पनि यही हो । अब त पुल पनि बन्न लाग्यो, वर्षामा गाडी बन्द नहोला भन्ने थियो तर अहिले पुलको काम नै रोकिएको छ,’ उनले भने, ‘सदरमुकामसँग जोडिने अर्को सडकको विकल्प छैन । एक मात्र सडक वर्षामा नचल्दा बिरामीलाई अस्पताल पुर्‍याउन पनि कठिन हुन्छ । खाद्यान्न ढुवानी हुन सक्दैन । महँगीको मारमा सर्वसाधारण पर्छन् ।’

पुलको काम अघि नबढेपछि पूर्वाधार विकास कार्यालयलाई सोधिरहेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउदले बताए । ‘पुलको काम अलपत्र छ, अहिलेसम्म किन बनेन भनेर जनताले स्थानीय तहलाई आक्रोश पोख्छन् । स्थानीय तहले पुल बनाउनका लागि योजना अगाडि सार्न सक्दैन । स्थानीय तहको योजना होइन भनेर  चुप लाग्न पनि मिल्दैन । समस्या हामीलाई भएको छ,’ उनले भने ।

पूर्वाधार विकास कार्यालय साँफेबगरलाई एक साताअघि पुलको काम किन नगरेको भनेर जवाफ माग्दा संघीय सरकारबाट बजेट नआएकाले काम रोकिएको जवाफ आएको अध्यक्ष साउद बताउँछन् । ‘बजेट छैन भनेर काम गर्दागर्दै छोड्न मिल्दैन । बजेट छैन भने स्थानीय तहलाई हस्तान्तरण गर्नुस्, पालिकाबाट हामी बनाउँछौं, यो अति आवश्यक सडक हो भनेर पूर्वाधार विकास कार्यालयलाई फेरि अर्को पत्र लेखेर पठाएका छौं,’ उनले भने , ‘दोस्रो पत्रको जवाफ आएको छैन । बजेट नभएर पुल नै नबन्ने अवस्था हो भने हामी जसरी पनि बनाउँछौं ।’

२०७९/८० मा ४ करोड लागतमा ठेक्का लागेको र गत कात्तिकमा सम्झौता मिति पनि सकिएको पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख जंगबहादुर थापाले बताए । उनका अनुसार योभन्दा अगाडि एक करोड बराबरको काम भएको र त्यसको भुक्तानी पनि भइसकेको छ । संघ सरकारको संघीय ससर्त अनुदान मार्फतको आयोजना भएकाले आयोजना सम्पन्न गर्नका लागि आवश्यक बजेट माग गरिएको तर अहिलेसम्म बजेट आउने सुनिश्चत नभइसकेको उनले बताए ।

‘चालु आवमा वर्षाली खोलामा बन्ने पुलका लागि ४० लाख बजेट मात्रै आएको छ । आवश्यक बजेट तीन करोड हो,’ उनले भने, ‘निर्माण व्यवसायीलाई काम किन नगरेको भनेर जवाफ माग्दा असार मसान्तमा पुलको सबै काम सम्पन्न गर्छौं, रकम भुक्तानी हुने निश्चित गर्नुस् भन्छन् ।’ ठेकेदार कम्पनी नन्देगडा एसएमपी जेभीले असार मसान्तसम्म ३ करोड भुक्तानी गर्न सक्ने सुनिश्चतता कार्यालयले दिए काम गर्न तयार रहेको बताएको थापाको भनाइ छ ।

'चालु आवमा आाएको ४० लाख बराबरको काम गर्नुस् भनेर पटकपटक भनेको छु । सबै काम सक्दा भुक्तानी दिन सक्ने अवस्था छैन,’ उनले भने, ‘गाउँपालिकाका अध्यक्षले बजेट नभए हामीलाई हस्तान्तरण गर्नुस् भनेर पत्र लेख्नुभएको छ । संघीय सरकारका आयोजना निर्माण गर्न स्थानीय तहलाई हस्तान्तरण गर्ने अधिकार हामीसँग हुँदैन ।’

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully