१४ वर्षीया किशोरीले बच्चा जन्माएपछि मात्रै बलात्कृत भएको खुलासा

निम्नवर्गीय परिवारकी ती किशोरी बाजे नाता पर्ने ५८ वर्षीय पुरुषबाट पटकपटक बलात्कृत भएको प्रहरीको भनाइ

फाल्गुन २६, २०८१

मेनुका ढुंगाना

It was revealed that a 14-year-old girl was raped only after giving birth

डडेलधुरा — डडेलधुराको परशुराम नगरपालिकाकी १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि उनी बलात्कृत भएको खुलेको छ ।

निम्नवर्गीय परिवारकी ती किशोरी बाजे नाता पर्ने ५८ वर्षीय पुरुषबाट गत असार ८ गतेबाट पटकपटक बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक उपेन्द्रबहादुर बमले बताए । 

उनका अनुसार ती पुरुषले कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएका कारण घटनाबारे बालिकाले परिवारमा भन्ने नसकेकी हुन् । ‘बालिकाले बच्चा जन्माएको १० दिन भयो । ती पुरुषलाई हामीले ८ दिन अगाडि नै पक्राउ गरिसकेका छौं,’ सूचना अधिकारी बमले भने, ‘फागुन १५ गते बालिकाले पेट दुख्यो भनेर छटपटापछि अत्तरिया लगिएको रहेछ । बच्चा जन्मिसकेपछि घटना बाहिरिएको हो । ती पुरुषमाथि जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ ।’ 

बालिकाका बुबा ७० वर्ष नाघेका र आमा कान नसुन्ने फरक क्षमताकी भएकाले छोरी गर्भवती भएका बारे बेखबर भएको स्थानीय बताउँछन् । छोरी विद्यालय आउने जाने र बिदाको दिन घरको काम पनि सघाइराख्ने भएकाले परिवारले बलात्कारपछि छोरी गर्भवतीको भएको सुइँकोसमेत पाएन । 

पारिवारिक स्रोतका अनुसार ११ दिन अगाडि बालिकाले पेट दुख्यो भनेर रोइकराइ गरेपछि जुकाको औषधि खुवाइएको थियो । त्यसले पनि निको नभएपछि अन्य औषधि पनि खुवाइयो । पेट दुखाइ र छटपटी बढ्न थालेपछि कैलालीको अत्तरियास्थित एक निजी अस्पताल पुर्‍याइयो । 

‘पीडित मेरो ठूलाबुवाकी छोरी हुन् । हामी अत्तिरिया नै बस्छौं । बहिनीको पेट दुख्यो भनेर अस्पताल ल्याइएको थियो । उनलाई त सुत्केरी बेथा लागेको रैछ । अस्पताल पुर्‍याउँदा छोरी जन्माइन्,’ बालिकाका दाइले भने , ‘कल्पनासम्म गर्न नसकेको घटना भयो । अस्पतालमा गएका हामी सबै स्तब्ध भयौं । कसरी गर्भवती भइन् भनेर घटनाबारे बुझ्दै जाँदा उनी आफन्तबाटै बलात्कृत भएकी रहिछन् ।’ 

परिवारका अनुसार बालिकाले बाजे नाता पर्ने ५८ वर्षीय पुरुषले घरमा कोही नभएको समयमा आउने डर, धम्की देखाएर शारीरिक सम्बन्ध राख्ने र घटनाबारे कसैलाई भने परिवारलाई समेत मार्ने धम्की दिने गरेकाले बालिकाले कसैलाई भन्न सकिनन् ।

अस्पतालको बेडबाट ती बालिकाले ५८ वर्षीया पुरुषको नाम लिएपछि परिवारका मान्छेले उनको खोजी गरेर डडेलधुराबाट बालिका भएको अस्पतालमा लिएका थिए । ‘पीडितको आर्थिक अवस्था कमजोर छ भन्ने थाहा पाएर ती पुरुषले पैसा दिएर घटना लुकाउन धेरै प्रयास गरिरहेका थिए । हामीले मानेनौं । हामीलाई पीडामाथि पीडा थपिएको छ,’ बालिकाका दाइले भने ।

उनका अनुसार बालिकाका ७० वर्षीय बुवासँग ती पुरुषको नजिकको संगत रहेको थियो । छिमेकी आलिताल गाउँपालिकाका ती पुरुष बाख्रा खरिदबिक्री गर्ने भएकाले बालिकाको घरमा आउनेजाने गर्थे । ‘उनले गाउँमा खसीबाख्रा किन्ने र बेच्ने गर्दै आएका थिए । बालिकाको घरमा बाख्रा पाल्ने भएकाले नजिककै सम्बन्ध जोडिएको थियो । बहिनी धेरै सोझी छन् । ठूलो स्वरले बोल्न नसक्ने, डराउने खालकी छन् । यस्तो घटना होला भन्ने त हामीले सोचेकै थिएनौं,’ बालिकाका दाइले भने । 

अत्तरियामा छोरीलाई जन्म दिएकी ती बालिकालाई डडेलधुरा जिल्ला अस्पतालमा दुई दिन, सेफ हाउसमा दुई दिन राखेर परिवारको जिम्मा लगाइएको थियो । बलात्कृत भएर सन्तान जन्माएकी ती बालिकाको परिवार र समाजले घर लैजान नसकेपछि डोटीस्थित आफन्तको घरमा राखिएको थियो । अहिले परशुराम नगरपालिकाको समन्वयबाट उनलाई धनगढीमा रहेको दृष्टि फाउण्डेशनकी संस्थापक कल्पना भट्टले उद्धार गरेर धनगढी लिएकी छन् ।

‘आफन्तको घरमा लुकाएर राखेका थिए । गाउँमा थाहा पाए बदनाम हुन्छ भनेर मलाई बाहिर पनि निस्किन दिइएको थिएन । खाना पनि राम्रोसँग पाएको थिइनँ,’ ती बालिकाले भनिन् ,‘घरका मान्छे पनि रिसाउन थाले । त्यो पुरुषले कसैलाई भनिस् भने आमाबुवालाई पनि मारिदिन्छु भनेको थियो ।’

पीडित बालिकालाई अप्ठेरो अवस्थाबाट उद्धार गरिएको दृष्टि फाउन्डेसनकी संस्थापक भट्टले बताइन् । ‘फाउन्डेसनमा आइपुग्ने बेला उनलाई रक्तस्रवा भइरहेको थियो । स्वास्थ्य अवस्था पनि कमजोर भएको छ । आमा र बच्चा दुवैसँग लुगा पनि थिएन । अहिले स्याहार गरेर राखेका छौं,’ उनले भनिन् ।

बालिका बलात्कृत भई गर्भवती भएको र बच्चासमेत जन्माएको कुरा ढिलोगरी जानकारी पाएको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले बताए । ‘घटनाका बारेमा थाहा पाएलगत्तै दृष्टि फाउन्डेसनसँग सहकार्य गरेर धनगढी पठाएका छौं । पीडितलाई गर्नुपर्ने सहयोगका लागि हामी तयार छौं,’ उनले भने ।

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully