ग्रामीण भेगमा सेनाको स्वास्थ्य शिविर
कञ्चनपुर — लालझाडी गाउँपालिका–२ कंजका ५७ वर्षीय अन्सारी रानालाई कम्मर दुख्ने र पिसाब पहेँलो आउने समस्या थियो । आर्थिक समस्या र नजिकै राम्रो अस्पताल नभएका कारण उनले जाँच गराउन पाएका थिएनन् । नजिकै रहेको स्वास्थ्य चौकीमा पुग्ने गरे पनि उनको समस्या समाधान भएको थिएन ।
शनिबार नेपाली सेनाले उनको घरछेउमै स्वास्थ्य शिविर सञ्चालन गरेपछि उनले आफ्नो समस्या डाक्टरसमक्ष निर्धक्क राखे । शिविरमै विभिन्न परीक्षण गरेर औषधि पनि पाए । ‘अब मेरो दुखाइ र अन्य समस्या समाधान हुन्छ भन्ने आशा छ,’ उनले भने, ‘घरछेउमै डाक्टर आए, औषधि पनि पाइयो ।’
राना खेतीपाती गर्छन् । त्यसैमा व्यस्त हुन्छन् । टाढा गएर उपचार गराउन आर्थिक अभाव छ । धेरै दिन बाहिर पनि बस्न सकिने अवस्था छैन । त्यही भएर आफू उपचारका लागि बाहिर जान नसकेको उनले सुनाए ।
‘कान नसुन्ने र शरीर पूरै दुख्ने समस्या छ,’ स्वास्थ्य शिविरमा परीक्षणका लागि आएकी कंजकी छोटी बडायकले भनिन्, ‘कान नसुन्ने समस्याका लागि मेसिन पाएँ, दुखाइ कम गर्ने औषधि पनि ।’ उनले निःशुल्क रूपमा श्रवण यन्त्र र औषधि पाएको बताइन् । उनीजस्तै १२ जनाले श्रवण यन्त्र पाएका छन् । 
नेपाली सेनाको महेन्द्रनगरको भगतपुरस्थित श्री नं. २५ बाहिनीले नियमित कार्यक्रम अन्तर्गत शनिबार जिल्लाकै दुर्गम मानिने लालझाडी गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा सेनाले उक्त कार्यक्रम गर्दै आएको छ ।
स्वास्थ्य शविर सञ्चालन हुने भएपछि शनिबार बिहानैदेखि वृद्धवृद्धादेखि युवकयुवती र बालबालिका समेत उपचारका लागि लाइन लागेका थिए । कतिपय अपांगता भएका व्यक्तिहरूसमेत उपचारका लागि शिविरमा पुगेका थिए । 
शिविरमा ८ सय ३४ जनाले स्वास्थ्य सेवा लिएको श्री नं. २५ बाहिनीका सेनानी आकाश बस्नेतले बताए । उनका अनुसार स्वास्थ्य परीक्षणसँगै निःशुल्क रूपमा औषधिसमेत वितरण गरिएको हो । यसका साथै ४ जनालाई वैशाखी र ७ जनालाई ह्वील चियर, ४ जनालाई सिरक–डसना र म्याट्रेस वितरण गरिएको उनले बताए । 
स्वास्थ्य शिविर सञ्चालन गरिएको भानु उच्च माध्यमिक विद्यालयलाई स्टेसनरी तथा खेलकुद सामग्री पनि वितरण गरिएको छ । आइतबार लालझाडीकै बैजनाथ आधारभूत विद्यालयलाई पनि स्टेसनरी तथा खेलकुद सामग्री प्रदान गरिने सेनानी बस्नेतले बताए । यसका साथै सरस्वती उच्च मावि, भानु उच्च मावि, शारदा उच्च माविलाई सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
