धनगढी — वृत्ति विकासको अवसरबाट वञ्चित गरिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत कार्यरत लेखा समूहतर्फका कर्मचारी पुनः आन्दोलित भएका छन् । बुधबार उनीहरूले प्रमुख कमलप्रसाद पोखरेललाई पत्र लेख्दै आफूहरूलाई संघीय सरकारमै फिर्ता पठाइदिन भनेका छन् ।
सुदूरपश्चिम सरकारअन्तर्गत कार्यरत लेखाका कर्मचारीको वृत्ति विकासको ढोका बन्द गरिएको भन्दै उनीहरूले चरणबद्ध आन्दोलन गर्दै गएका थिए । यसै क्रममा बुधबारदेखि पुनः सुरु गरिएको आन्दोलनका क्रममा उनीहरूले प्रदेश सरकारद्वारा लेखा समूहका कर्मचारीको मागप्रति बेवास्ता गरिएको भन्दै संघमा फिर्ता गर्नुपर्ने माग अघि सारेका हुन् ।
०७४ सालदेखि सुदूरपश्चिममा समायोजन भएर लेखा अधिकृत पदमा कार्यरत रहेकाहरुका लागि प्रदेश निजामती सेवा ऐन-०७९ र प्रदेश निजामती सेवा नियमावली ०८१ बमोजिम संगठन व्यवस्थापन तथा सर्वेक्षण नगरेको, वृत्ति विकासको अवसर सुरुदेखि नै बन्द रहेको लेखा समूहका अधिकृतको गुनासो छ ।
‘अन्य सेवा समूहका कनिष्ठ कर्मचारीको वृत्ति विकास हुनेगरी प्रदेश लोकसेवा आयोगले विज्ञापनसमेत गरिसकेको अवस्थामा लेखा समूहका अधिकृतको वृत्ति विकासलाई वास्ता नगरिएकाले बाध्य भएर संघमा फिर्ता गरिदिन भनेका हौं,’ प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत बलदेव कपाडीले भने ‘अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत धर्ना बस्ने र त्यसपछि पनि सुनुवाइ नभएसम्म प्रदेश सरकारका सबै निकायबाट हुने भुक्तानीको प्रक्रिया नै रोक्ने तयारीमा छौं ।’ उनीहरूले बुधबार प्रदेश लेखा नियन्त्रण कार्यालयमा धर्ना दिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा लेखा समूहका १ सय ३८ जना कर्मचारी समायोजन भएर आएका थिए । तर प्रदेश निजामती सेवा ऐनले लेखा समूहका कर्मचारीको वृत्ति विकासको बाटो बन्द गरेका कारण आधाजति कर्मचारी अवकाश भइसकेको उनीहरु बताउँछन् ।
प्रदेशमा प्रशासन सेवाको नवौं तहदेखिमाथि समूहको व्यवस्था हटाएर प्रशासन सेवाका कर्मचारीको समान वृत्ति विकासको व्यवस्था गर्न वा लेखा समूहका कर्मचारीको वृत्ति विकास हुनेगरी दरबन्दी पुनरावलोकन गर्नु पर्ने आफूहरूको माग रहेको अर्का लेखा अधिकृत पदम बिष्टले बताए ।
यसअघि पनि उनीहरुले कार्यालयहरुको भुक्तानीको प्रक्रिया रोकेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले माग सम्बोधन गर्न अध्ययनका लागि भन्दै समिति गठन गरेको थियो । उक्त समितिले वृत्ति विकासको बाटो नखोलेर प्रतिवेदन बुझाएको र लोक सेवा आयोगले प्रक्रिया अघि बढाएका कारण फेरी आन्दोलन गर्न बाध्य भएको लेखा अधिकृत कृष्ण शाहीले बताए ।
आन्दोलित लेखा अधिकृतहरूले प्रदेशमा प्रशासन सेवाको नवौं तहदेखि माथि समूहको व्यवस्था हटाएर प्रशासन सेवाका कर्मचारीसरह वृत्ति विकासको व्यवस्था गर्न वा लेखा समूहका कर्मचारीको वृत्ति विकास हुनेगरी दरबन्दी पुनरावलोकन गर्न माग गर्दै आएका छन् ।
