पुनर्निर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबारको उद्घाटन

२०५८ फागुन ४ मा तत्कालीन विद्रोही माओवादीको आक्रमणमा दरबार ध्वस्त भएको थियो

फाल्गुन १९, २०८१

मेनुका ढुंगाना

Inauguration of Acham Palace 16 years after the reconstruction started

अछाम — पुनर्निर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबारको सोमबार बिहान उद्घाटन गरिएको छ । २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको अछाम दरबार ध्वस्त भएको थियो । 

संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन । सहरी विकास मन्त्रालय मातहतहत निर्माण भएको दरबार अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई मन्त्री सिंहले हस्तान्तरण गरे ।

अछामको पहिचान बोकेको दरबारलाई सदुपयोग गरेर नयाँ पुस्तालाई ऐतिहासिक महत्वको बारेमा जानकारी दिनुपर्ने मन्त्री सिंहले बताए । 'दरबारले अछामको ऐतिहासिक पहिचान बोकेको छ । यसको महत्वका बारेमा आउने पुस्तालाई जानकारी दिनैपर्छ,' उद्घाटन गर्दै उनले भने, 'दरबारको विकास र बाँकी संरचना निर्माण गर्न हामी काम गर्छौं ।'

अछाम दरबारमा साविकका कार्यालय सञ्चालन गर्ने कि संग्राहलयका रुपमा विकास गर्ने भन्नेबारे छलफल भइरहेको प्रतिनिधिसभा सदस्य पुस्पबहादुर शाहले बताए । 'ऐतिहासिक दरबारलाई संग्राहलय बनाउने विषयमा धेरै ठाउँबाट सुझाव आएको छ,' उनले भने ।

दरबार संरक्षणका लागि मन्त्रालयले बजेट उपलब्ध गराउनुपर्ने मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताए । 'दरबार निर्माण गर्न १६ वर्ष लाग्यो । निकै ढिलो सम्पन्न भएको छ । अछाम जहिले पनि केन्द्र सरकारको नजरमा पर्न सकेको छैन,' उनले भने, 'अछामको शिर फेरि उठेको छ । अब यसको संरक्षणका लागि  मन्त्रालयले विषेश ध्यान दिनुपर्नेछ ।'

२  करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको सहरी विकास मन्त्रालयका महानिर्देशक मचाकाजी श्रेष्ठले बताए । उनका अनुसार दरबार ३ सय २० वर्गमिटरमा बनेको छ भने दरबार क्षेत्रको जम्मा क्षेत्रफल ९ सय ६० वर्गमिटर रहेको छ । ´दरबार परिसरको संरचना र संरक्षणका लागि चालु आवमा मन्त्रालयले मातहत कार्यालयबाट बजेट चलाउन मिल्ने गरी २ करोड बजेट छुट्याइएको र टेन्डर आवाहन भइसकेको छ,' उनले भने ।

दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत सञ्चालन भए पनि आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसमेत मारिएका थिए । घटनामा क्याप्टेनसहित ५३ सैनिक, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो । 

अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसैनका तत्कालीन राजा टीकाभुक शाहका पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुर शाहका पालामा १९३५ सालमा निर्माण सम्पन्न भएको मंगलसेन-५ का चन्द्रमणि भाटले बताए। 

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully