हिमपहिरोमा परेर २५ भेडा मरे, २० बेपत्ता 

फाल्गुन १९, २०८१

वसन्तप्रताप सिंह

25 sheep died in avalanche, 20 missing

बझाङ — साइपाल गाउँपालिकामा हिमपहिरोमा पुरिएर २५ भेडा मरेका छन् । २२ वटा भेडा हिमपहिरोमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साइपाल गाउँपालिका–४ धुलीका जयपाल रोकायाका भेडा हिमपहिरोमा परेका हुन । गुदुपाल हिमालको फेदीमा रहेको गुदुपाल सामुदायिक वनबाट भेडा चराएर घर तर्फ फर्किने क्रममा हिमपहिरो आएको जयपालका आफन्त डबल रोकायाले बताए ।

१२५ भेडा ल्याएर जयपालसहित उनका दुई छोराहरू रामराँटी भन्ने ठाउँमा पुगे पछि बरमडाँडाबाट हिमपहिरो खसेको उनले बताए ।

‘मान्छेहरूले पहिरो आउन लागेको देखेर भागेर ज्यान बचाए छन्,' उनले भने, ‘बाटोमा हिँडिरहेका भेडाहरू सखाप भए । शनिबार दिउँसो उक्त घटना भएको तर घटनास्थलमा टेलिफोन सम्पर्क नहुने भएकाले आइतबार साँझ मात्रै मान्छे मार्फत खबर आएको उनले जानकारी दिए । 

हिमपहिरोमा भेडाहरू परेको खबर आएलगत्तै सीमा प्रहरी चौकी धुलीबाट उद्धारको लागि आइतबार नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीका अनुसार सोमबार पनि प्रहरी र स्थानीयले पहिरोमा पुरिएका भेडाहरूको खोजी गरिराखेका छन् ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully