दार्चुला — लेनदेन विवादमा बैतडीमा छिमेकीले गोली प्रहार गर्दा युवकको मृत्यु भएको छ । छिमेकी दाजु नाता पर्नेको गोली प्रहारबाट घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुरेन्द्रका छिमेकी दाजु नाता पर्ने स्थानीय ४५ वर्षीय कर्णबहादुर विष्टले आफ्नै घरमा रहेको बन्दुकबाट गोली प्रहार गर्दा सुरेन्द्र गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
प्रहरी निरीक्षक बडूका अनुसार शनिबार राति करिब ८ बजे लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद हुँदा लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । गोली प्रहार गर्ने कर्णबहादुर फरार भएका छन् । उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
