अवरुद्ध दार्चुला-गोकुलेश्वर सडक २४ घण्टापछि सञ्चालनमा

फाल्गुन १७, २०८१

मनोज बडू

Darchula-Gokuleswar road is operational after 24 hours

दार्चुला — लगातारको हिउँदे वर्षाले अवरुद्ध दार्चुला–गोकुलेश्वर सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । पहिरोले शुक्रबार बिहानैदेखि अवरुद्ध सडकमा पहिरो पन्छाएपछि शनिबार बिहानबाट सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

महाकाली नगरपालिका–५ किम्तडीस्थित ठण्याकाठा भीरमा लेदोसहितको पहिरो खस्दा सडक एक महिनापछि पुनः अवरुद्ध हुन पुगेको थियो । निर्माण व्यवसायीले एक्स्काभेटरको प्रयोग गरी सडक सफा गरेपछि बिहानैबाट सडक खुला भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । सडक अवरुद्धका कारण रोकिएका यात्रु तथा सवारीसाधन बिहानैबाट गन्तव्यतर्फ लागेका छन् ।

एक महिना अगाडि उक्त क्षेत्रमा सडक चौडा पार्ने क्रममा सुक्खा पहिरोले एक सातासम्म सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । सुक्खा पहिरोमा वर्षा भएपछि माथिबाट सानासाना ढुंगा खस्न नरोकिएको स्थानीयले बताएका छन् ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully