परिणाम नआउने क्षेत्रमा प्रदेश सरकारले खर्च गर्दैन : मुख्यमन्त्री शाह

फाल्गुन १६, २०८१

रासस

State government will not spend in areas that do not produce results: Chief Minister Shah

भजनी (कैलाली) — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले परिणाम नआउने योजनामा प्रदेश सरकारले बजेट खर्च नगर्ने बताएका छन् ।

टीकापुरस्थित जालवा देवी सेवा समितिद्वारा निर्माण गरिएको केवलानन्द डण्डी स्वामीको शालिक अनावरण गर्दै उनले यसभन्दा अघि करोडौँ खर्च भएका सयौँ संरचना अलपत्र परेको बताए ।

प्रदेश सरकारले आवश्यकताका आधारमा बजेट खर्च गर्ने गरेको बताउँदै उनले भने, 'हिजो समुदायस्तरबाट लाखौँ करोडौँका योजना माग भए, त्यसमा बजेट खर्च भयो, आज ती योजना सम्पन्न भए पनि सञ्चालनमा आएका छैनन् ।' 

उनले अब औचित्यका आधारमा मात्रै बजेट विनियोजन गर्ने नीति प्रदेश सरकारले लिएको उल्लेख गरे । समाजलाई आवश्यक परेका र भोलिसम्म त्यसको प्रभाव रहने क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदेश सरकारले राष्ट्र र समाजका लागि योगदान दिएका व्यक्तिको खोजी गरिरहेको बताउँदै मुख्यमन्त्री शाहले शिक्षा, संस्कार, संस्कृतिका साथै सबै नागरिकलाई एउटै दर्जा दिने डण्डी स्वामी समाजको एक इतिहास भएको बताए ।

रासस

Link copied successfully