खडेरीको सामना गरिरहेका बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, बैतडीका स्थानीयलाई राहत
काठमाडौँ — बिहीबार रातिदेखि बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात भइरहेको छ । अविरल वर्षापछि जयपृथ्वी राजमार्गको तमैल जालेबगर सडक खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।
छबिसपाथीभेराको बालुवाटार र जालेबगर क्षेत्रमा बिहीबार राति खसेको पहिरो शुक्रबार बिहान हटाएर केहीबेर यातायात सञ्चालन भएको थियो । दिउँसो पुन: सोही ठाउँमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सडक डिभिजन कार्यालय र जयपृथ्वी नगरपालिकाको डोजर पहिरो हटाउन प्रयासरत रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीले जानकारी दिए । ‘डोजर बिहानैदेखि स्ट्यान्डबाई राखिएको छ,' उनले भने, ‘पानी पर्न नरोकिएका कारण पहिरो खस्ने क्रम जारी छ । बेलाबेला खुल्ने र अवरुद्ध हुने भइहेको छ ।'
लामो समयसम्म खडेरीको सामना गरिरहेका सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, बैतडीका स्थानीय वर्षापछि खुसी भएका छन् । उच्च पहाडी तथा हिमाली भेगमा शुक्रबार बिहानबाट हिमपात पनि सुरु भएको छ ।
बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छबिसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । साइपालको धुली, काँडा लगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । यस्तै खप्तड राष्ट्रिय निकुञ्जमा पनि बाक्लो हिउँ जमेको छ । निकुञ्ज कार्यालयका गेम स्काउट दिनेश खड्काले हिजो साँझबाट नै खप्तडमा हिमपात सुरु भएको र कुनैकुनै ठाउँमा दुई फिट हाराहारी हिउँ जमिसकेको बताए । शुक्रबार दिउँसोसम्म हिमपात हुने क्रम जारी छ ।
बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासागै बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौली लगायतका उच्च लेकाली स्थानमा पनि हिमपात भएको छ ।
डोटीको गैरा, साउखर्क, डडेल्धुराको हगुल्टमा पनि हिमपात भएको स्थानीयले जानकारी दिएका छन । ‘पानी नपर्दा हिउँदे बाली खेतमै सुक्न लागिसकेको थियो,' बझाङ साइपालका दीपक बोहराले भने, ‘ढिलै भए पनि हिउँ पर्यो । अब उम्रेको बोट पलाउँछ कि भन्ने आशा जागेको छ ।'
हिमपात र वर्षाकासँगै चिसो बढ्दा दैनिक ज्यालामजदुरी गर्ने, बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । तामाङ समुदायको ग्याल्पो ल्होसार पनि प्रभावित भएको छ । सबै जना एकै ठाउँमा भेला भई रमाइलो गर्न नपाएको साइपालकी जानु तामाङले बताइन् ।
