पासोमा परेको चितुवा उद्धार क्रममा मर्‍यो

फाल्गुन ११, २०८१

मनोज बडू

The trapped leopard died during the rescue

दार्चुला — दार्चुलास्थित ऐरपालीमा पासोमा परेको चितुवा मरेको छ । शुक्रबार दिउँसो स्थानीयले थापेको पासोमा चितुवा फसेको थियो । उद्धारका क्रममा चितुवा मरेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ । 

लेकम गाउँपालिका–३ ऐरपालीस्थित सामुदायिक वनमा स्थानीयले बँदेलका लागि थापेको पासोमा चितुवा परेको थियो । शनिबार रातिदेखि उद्धार सुरु गरिएकामा सोही क्रममा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राजेश पार्कीले बताए । 

उद्धारका लागि डिभिजन वन कार्यालय, महाकाली शव डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरेका थिए ।

चितुवा उद्धारका लागि कञ्चनपुरको शुल्लाफाँटाको टोली पनि शनिबार राति उक्त क्षेत्रमा पुगेको थियो । तर चितुवाको जीवित उद्धार गर्न नसकिएको वन कार्यालयले जनाएको छ । ‘पासोमा फसेर गम्भीर घाइते अवस्थामा रहेको चितुवा पासोमै मरेको हो,’ वन कार्यालयका एक कर्मचारीले भने, ‘पासोले चितुवाको शरीरमा ठूलो चोट रहेको थियो ।’ उद्धार टोली जिल्लामा नभएकाले कञ्चनपुरबाट आउँदा ढिलाइ भएका कारण चितुवा मरेको स्थानीयको भनाइ छ । उक्त क्षेत्रमा पासो थाप्ने व्यक्तिको खोजी कार्य भइरहेको उनले बताए ।

अनुमानित ८ वर्षको यो पोथी चितुवालाई इलाका प्रहरी कार्यालय लालीको परिसरमा गाडिएको छ ।

जिल्लामा वन्यजन्तु उद्धारका लागि दक्ष जनशक्ति र आवश्यक उपकरण नहुँदा चितुवाको समयमै उद्धार गर्न नसकिएको सूचना अधिकारी पार्कीले बताए । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully