अछाम — मंगलसेन नगरपालिका एक महिनादेखि कार्यालय प्रमुखविहीन भएको छ । वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको भन्दै माघ ९ गते मंगलसेन नगरपालिका सहित देशभरसका २३ स्थानीय तहका कार्यालय प्रमुखको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रद्द गरेको थियो । नगरपालिकाको कार्यालय प्रमुखका रुपमा रहेका प्रशासनिक सेवातर्फको छैंटौं तहका खकेन्द्रबहादुर सोडारीको जिम्मेवारी रद्द गरिएको थियो ।
माघ ९ गते मन्त्रालयले नगरपालिकालाई पठाएको पत्रमा अर्को व्यवस्था नहुँदासम्मका लागि कार्यालयका निजामती सेवा नियमावली २०५० को नियम ४६ अनुसार, स्थानीय तहमा कार्यरत ज्येष्ठ कर्मचारीलाई मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन सकिने जानकारी गराएको छ । तर मन्त्रालयले कनिष्ठ रहेका सोडारीलाई हटाए पनि निमित्त कार्यालय प्रमुख पनि तोकिएको छैन ।
मन्त्रालयले आर्थिक तथा प्रशासनिक जिम्मेवारीबाट हटाएको र अर्को व्यवस्था पनि नगरिदिँदा कार्यालयको काम अलपत्र परेको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहराले बताए । कार्यालयमा कार्यरत ज्येष्ठ कर्मचारीहरूले निमित्तको जिम्मेवारी लिन अस्विकार गरेको र मन्त्रालयलाई पटकपटक जानकारी गराउँदा पनि प्रमुख प्रशासकीय अधिकृत नपठाएको बोहराले बताए । खकेन्द्र सोडारी भन्दा सिनियर कर्मचारी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन तयार भएनन् । निमित्त कार्यालय प्रमुखको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गर्ने निर्णय गर्ने, दरबन्दी अनुसार कर्मचारी पनि नपठाउने गैरजिम्मेवारपूर्ण निर्णय मन्त्रालयले गरेको छ,’ नगर प्रमुख बोहराले भने, ‘राजश्व संकलन, सार्वजनिक सेवा प्रवाहका सम्पूर्ण कामहरु एक महिनादेखि रोकिएका छन् ।’
माघ ११ गते नै नगरपालिकाको तर्फबाट ७२ घण्टाभित्र रिक्त पदमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृत खटाउन पत्राचार गरिएको र अहिलेसम्म पनि मन्त्रालयबाट कुनै सुनुवाइ नभएको उनले बताए ।
उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माण, प्रशासनिक सेवा तथा आर्थिक कारोबार प्रभावित भएका छन् । स्थानीय सेवाग्राहीहरू आवश्यक सेवा नपाउँदा समस्यामा परेका छन् । ‘मन्त्रालयले तत्काल दरबन्दी अनुसार कर्मचारी पठाउनु पर्यो कि साबिककै सोडारीलाइ पुनः जिम्मेवारी दिनु पर्यो । कार्यालयलाई मन्त्रालयले अनिर्णयको बन्दी बनाएर राखि दिनुभएन,’ नगर प्रमुख बोहराले भने, ‘टाढाटाढा बाट सेवा लिन सर्वसाधारण नगरपालिकासम्म आउँछन्, काम नभएपछि फर्किन बाध्य छन् । हाकिम नभएका कारण सबैलाई दुःख भएको छ । भुक्तानी, सम्झौता, सिफारिस लगायतका काम सबै ठप्प छ ।’
सोडारीसँगै चौरपाटी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाको जिम्मेवारी खोसिएकोमा उनले पुनः अख्तियारी पाइसकेका छन् ।
