४ सय २१ को जाँच गर्दा २ सय ३४ जनाको आँखामा समस्या, २८ को शल्यक्रिया गर्नुपर्ने
बझाङ — बझाङको विकट साइपाल गाउँपालिकाका धेरैजसो स्थानीयमा अझै दृष्टिविहीनताको समस्या देखिएको छ । यहाँका ४ सय २१ जनाको जाँच गर्दा २ सय ३४ जनाको आँखामा समस्या देखिएको हो । गेटा आँखा अस्पतालको सिमखेत आँखा उपचार केन्द्र र साइपाल गाउँपालिकाको समन्वयमा गरिएको जाँचका क्रममा आँखाको बिरामी पत्ता लागेका हुन् ।
जाँच गरिएकामध्ये २६ जनामा मोतीबिन्दु र दुई जनाको आँखामा मासु पलाउने समस्या देखिएको छ । उनीहरुको शल्यक्रिया गर्नुपर्ने स्वास्थ्यकर्मीको टोलीले जनाएको छ । टोलीले साइपालका प्रत्येक वडामा पुगेर स्थानीयको आँखा परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये १ सय ७६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको टोलीमा संलग्न स्वास्थ्यकर्मी जनककुमार विष्टले जानकारी दिए ।
जिल्लाका अन्य पालिकाको तुलनामा साइपालका बासिन्दामा आँखासम्बन्धी समस्या बढी देखिएको सिमखेत आँखा उपचार केन्द्रकी प्रमुख सगुन तामाङले बताइन् । ‘मोतीबिन्दुको समस्या धेरैमा देखिए पनि २६ जनाको तत्कालै अपरेसन गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘बढी हावा चल्ने सुक्खा ठाउँ भएर हो कि यहाँका धेरै जनामा आँखासम्बन्धी समस्या देखियो ।’ ज्येष्ठ नागरिकमा बढीजसो मोतीबिन्दु र कम उमेरका मानिसका आँखामा मासु पलाउने समस्या देखिएको उनले बताइन् ।
साइपालबाट सदरमुकाम चैनपुर आउजाउमा चार दिन हिँड्नुपर्छ । बझाङमा आँखाको शल्यक्रिया हुने सुविधासम्पन्न अस्पताल नभएकाले धनगढीसम्म पुग्नुपर्ने भएकाले खर्च अभावमा उपचार गर्न नसकेको स्थानीयको भनाइ छ । ‘आफैं हिँडेर घर बाहिरभित्र पनि गर्न सक्दिनँ । चैनपुरसम्म जाऊँ भने बोक्ने मान्छे चाहियो,’ मोतीबिन्दुका कारण दृष्टिविहीनताको समस्या झेलिरहेकी साइपाल–३ काँडाकी ७८ वर्षीया राममती बोहराले भनिन्, ‘चैनपुर जाने खर्च त जुटाउन सक्दैनौं । धनगढी पुगेर आँखा कसरी उघार्नु ?’ चैनपुरसम्म बोक्ने मान्छेलाई मात्र एक लाखसम्म खर्च लाग्ने उनले बताइन् ।
उपचार गरे आँखाको ज्योति फर्किने स्वास्थ्यकर्मीले बताए पनि खर्च जुटाउन नसक्दा अन्धकारमै बस्नुपरेको साइपाल–५ बलौडीका ८० वर्षीय वीरजिते बोहराले बताए । ‘छकालबासा (बिहान–बेलुका) को छाक जुटाउन त मुस्किल छ । उपचार केले गर्नु ?,’ उनले भने, ‘फेरि आँखा देख्न पाए हुन्थ्यो भनेर सोच्छु । तर सोचेर मात्रै के गर्नु ?’
साइपालका स्थानीयमा योभन्दा पहिला पनि दृष्टिविहीनताको समस्या व्यापक थियो । २०७७ भदौ २४ मा कान्तिपुरमा ‘साइपालको अँध्यारो संसार’ शीर्षकमा ३ सय जना बढीमा आँखाको समस्या भएकाबारे समाचार प्रकाशित भएपछि सोही वर्ष कात्तिकमा तिलगंगा आँखा अस्पतालले पालिकाको केन्द्रमा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा ३ सय ८ महिला र २ सय ३ पुरुष गरी ५ सय ११ जनाले आँखासम्बन्धी उपचार सेवा लिएका थिए । ६३ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको थियो । ३ सय ८० जनालाई चस्मा वितरण गरिएको थियो । उक्त शिविरपछि १४ वर्षसम्म दुवै आँखा नदेख्नेहरुले पनि गुमेको दृष्टि पाएका थिए ।
फेरि साइपालमै शल्यक्रियासहितको शिविर सञ्चालनका लागि पहल गरिरहे पनि सफल नभएको गाउँपालिकाले बताएको छ । ‘यति धेरै मान्छेलाई बाहिर लगेर उपचार गर्न सम्भव नभएकाले पालिकामै शिविर सञ्चालनको पहल गरिरहेका छौं,’ गाउँपालिका अध्यक्ष मानवीर बोहराले भने, ‘स्थानीय स्तरमा लाग्ने खर्च पालिकाले व्यहोर्ने गरी बाँकी व्यवस्थापनका लागि प्रदेश र संघ सरकारलाई धेरै पटक अनुरोध गर्दा पनि माग सम्बोधन भएको छैन ।’ आँखा अस्पताललाई शल्यक्रिया शिविर सञ्चालन गरिदिन अनुरोध गरे पनि पालिकाको केन्द्रसम्म पुग्न दुई दिनभन्दा बढी हिँड्नुपर्ने भएकाले कोही आउन नमानेको उनले बताए ।
