कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिका ४ पर्सियामा वयस्क हात्ती मृत अवस्थामा भेटिएको छ । बुधबार बिहान बस्तीनजिकै भाले हात्ती मृत अवस्थामा भेटिएको हो ।
‘हात्तीको मृत्यु शंकास्पद छ, अहिले केही भन्न सकिन्न,’ सब डिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेश यादवले भने, ‘बाहिर देखिने घाउ चोट केही छैन ।’
उनका अनुसार हात्तीको पोष्टमार्टमका लागि भेटनरी विज्ञ अस्पताल महेन्द्रनगरबाट पशु चिकित्सकको टोली मगाइएको छ । पोष्टमार्टमपछि मात्रै अन्तिम संस्कार गरिनेछ ।
लालझाडी मोहना संरक्षित क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीच बस्तीमा गहुँबारीमा हात्ती मृत भेटिएको वन अधिकृत यादवले बताए । उनका अनुसार मंगलबार राती हात्तीको मृत्यु भएको हुन सक्ने देखिन्छ ।
