धनगढी — धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. वेदप्रकाश पन्तमाथि सोमबार बिहान एक जना बिरामीका कुरुवाले हातपात गरेका छन् । आइसीयूबाट बाहिर निस्कने क्रममा ढोकामै आफूमाथि हातपात गरेको र चस्मा फुटेको डा. पन्तले बताएका छन् ।
धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानाले डा पन्तमाथि मुक्का प्रहार गर्दै हातपात गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले बताए । उनले विगतमा पनि यस्तै घटना गर्दै आएको बुझिएको डा. पाण्डेको भनाई छ ।
कृष्ण आइसियुमा उपचार गराइरहेका आफ्ना बुवा रमतर रानाको कुरुवा बसेका थिए । ‘उसको बुवा न्युरोको बिरामी हो । मैले हेरिरहेको बिरामी पनि होइनन् । म त मेडिसिन विभागमा कार्यरत छु,’ डा पन्तले भने ‘एक्कासि म माथि प्रहार गरे । मैले त केही बुझ्नै सकिनँ ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराले कृष्ण रानालाई नियन्त्रणमा लिइएको बताए । ‘रानाले आइसीयूबाट बिरामीलाई जाँच गरेर फर्किने क्रममा डा पन्तमाथि हातपात गरेको बुझिएको छ । डाक्टरको चस्मा फुटेको छ भने मुखमा सामान्य चोट लागेको छ,’ प्रवक्ता बोहराले भने, ‘कृष्णको मानसिक अवस्था ठिक नभएको प्रारम्भिक भनाइहरू पनि आएका छन् । हामी थप बुझ्दै छौँ ।’
