सुदूरपश्चिममा संसदीय समितिका सभापति चयन

फाल्गुन ४, २०८१

अर्जुन शाह

Election of Chairman of Parliamentary Committee in Far West

धनगढी — सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिहरुले आइतबार नेतृत्व पाएका छन् । सत्तारुढ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबीच भागबन्डा मिलेपछि शुक्रबार सुरु गरिएको निर्वाचन प्रक्रियाबाट आइतबार चार वटा समितिमा सभापति चयन भएका छन् । सत्तारुढ दलहरुबीच भागबन्डाको रसाकसीकै कारण सभापतिको निर्वाचन पटक-पटक स्थगन हुँदै आएको थियो ।

विधायन तथा प्रदेश मामिला सभापतिमा यसअघि नै सभापति थिए । भागबन्डा गर्दा कांग्रेसले विधायन तथा प्रदेश मामिला र विशेषाधिकार समिति, एमालेले सामाजिक विकास, नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापति लिने र सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलाई दिने समझदारी गरेका थिए । सभापतिले पदीय मर्यादा, सवारी साधन लगायतका सुविधा पाउने भएकाले दलहरुबीच हानाथाप हुने गरेको सांसदहरु बताउँछन् ।   

सोही अनुसार सामाजिक विकास समितिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा कांग्रेसकी तुल्सी देवकोटा निर्विरोध निर्वाचित भएकी हुन् । 

सार्वजनिक लेखा समितिको सभापतिमा माओवादीका अक्कलबहादुर रावल निर्वाचित भएका छन् । विधायन तथा प्रदेश मामिला समितिमा यसअघि देखि नै दिवानसिंह विष्ट सभापति थिए । 

आइतबार सभापति चयन भएका चारै जना निर्विरोध भएका हुन् । नवनिर्वाचित सभापतिहरुले आइतबार नै शपथ लिएका छन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully