कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हृदेवबाट करिब ९ किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । मंगलबार बिहान ब्रम्हृदेव नाका हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ का ३५ वर्षीय महेन्द्रबहादुर रोकाया र सोही ठाउँका ४२ वर्षीय अमरबहादुर रोकाया रहेका छन् ।
उनीहरुले शरीरमा बाँधेर चरेसका पोकाहरु भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।
महेन्द्रले १४ पोका र अमरले १३ पोका गरी दुवैले २७ पोका शरीरमा बाँधेका थिए । चरेसको तौल ८ किलोग्राम ९२६ ग्राम रहेको छ । चेकजाँचका क्रममा उनीहरुसँगै रहेका एक जना भने फरार भएका छन् । उनको खोजी भइरहेको एसपी जोशीले बताए ।
