दार्चुला — भारतमा गाडीको ठक्करबाट मालिकार्जुन गाउँपालिकामा कार्यरत कर्मचारीको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट घर भइ गाउँपालिकाको उद्यम विकास शाखा प्रमुखका रुपमा कार्यरत जगदीश अवस्थीको दुर्घटनामा परी आइतबार मृत्यु भएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।
मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाका अनुसार भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी हुन जाँदै गरेका अवस्थीको लखनउमा गाडीले ठक्कर दिएर मृत्यु भएको हो ।
आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख अवस्थीको मृत्यु भएपछि सोमबार गाउँपालिकामा शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले जानकारी दिए ।
