निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका छन् : गृहमन्त्री लेखक

माघ २८, २०८१

रासस

Private schools have contributed significantly to the education sector of Nepal: Home Minister Author

कैलाली — गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुदूरपश्चिम प्रदेशको आज धनगढीमा आयोजित चौथो अधिवेशनको उद्घाटन समारोहमा उहाँले निजी विद्यालयहरूको भूमिका सबैले अनुभूत गरेको बताए ।

गृहमन्त्री लेखकले भने, 'सामुदायिक विद्यालयलाई राम्रो बताउनुपर्दछ भन्नेमा कुनै दुविधा छैन । सरकारले निःशुल्क अनिवार्य शिक्षा दिनुपर्दछ भन्नेमा पनि कुनै दुविधा छैन तर संस्थागत, निजी अथवा आवासीय विद्यालयका कारणले सार्वजनिक अथवा सामुदायिक विद्यालयको स्तर घटेको होइन । त्यसकारण दुवैलाई जुधाउनुपर्ने वा प्रतिस्पर्धा गराउनुपर्ने कुनै आवश्यकता छैन । दुवैको सुधार र योगदानको कदर गरिनुपर्छ ।'

उनले सरकारले नीतिगत र कानुनी सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 'नीतिगत सुधार भन्ने बित्तिकै कानुनी र संरचनागत सुधार हो, दुवै पक्षको सुधार गर्ने हो । सोहीअनुसार काम भइरहेको छ,' गृहमन्त्री लेखकको भनाइ थियो, 'यसैकारण सङ्घीय संसद्मा भएका विधयेक चाँडो पारित गरेर गर्ने, आवश्यकताअनुसार संसोधन, नयाँ तर्जुमा गर्नुपर्ने कानुन संसद्मा प्रस्तुत गरेर अगाडि बढाउन लागेका छौँ ।' उनले शिक्षासम्बन्धी विधेयक चाँडै पास हुने उल्लेख गरे । 

देशको अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो भूमिका र सहभागिता रहेको बताउँदै मन्त्री लेखकले यसको प्रवर्द्धन, संरक्षण गरेर मात्रै आर्थिक प्रगति हासिल गर्न सकिन्छ भन्ने नेपाल सरकारको मान्यता रहेको बताए । 'नेपाल सरकार निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहन्छ । निजी क्षेत्रको विकासले समग्र मुलुकको अर्थतन्त्रलाई विकसित गर्नसक्छ भन्ने कुरामा हामी स्पष्ट छौँ,' उनले भने । 

प्याब्सन सुदूरपश्चिमका अध्यक्ष ललितराज पन्तले निजी तथा आवासीय विद्यालयको विकासका लागि सबैले हातोमालो गरेर अघि बढ्न जरूरी रहेको बताए । 

रासस

Link copied successfully