अछाम — मेल्लेख गाउँपालिका–५ कौलेनामा सुख्खा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । कौलेनामा ढुंगान निकाल्ने क्रममा एक्कासि पहिरो खस्दा ६३ वर्षीया नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।
घटनास्थलमा काम गरिरहेका ४८ वर्षीय भीमबहादुर खड्काको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेर गम्भीर घाइते भएका छन् । उनको थप उपचारका लागि बयालपाटा अस्पताल लगिएको भण्डारीले बताए ।
घर छाउने ढुंगा निकाल्नका लागि ४ जना त्यहाँ गएकामा अन्य दुई जना भाग्न सफल भएको उनले बताए । मेल्लेख गाउँपालिकाको केन्द्रबाट ४ किलोमिटरपूर्व रहेको घटनास्थलमा प्रहरी पुगेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
