पासोमा फसेको चितुवाको उद्धार

माघ १५, २०८१

मनोज बडू

Rescue of a trapped leopard

दार्चुला — बैतडीमा बँदेल नियन्त्रणका लागि थापेको पासोमा फसेको चितुवाको उद्धार गरिएको छ । दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरासुन्दरी मन्दिरनजिक पासोमा फसेको चितुवाको सोमबार उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको हो ।

डिभिजन वन कार्यालयका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोली, डडेल्धुराबाट आएका पशु डाक्टर र डिभिजन वन कार्यालयका वन अधिकृत नरेश कर्णसहितको टोलीले संयुक्त रुपमा चितुवाको उद्धार गरिएको हो ।

उद्धारपश्चात् अहिले चितुवालाई डिभिजन वन कार्यालय बैतडीमा राखिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टले बताए । चितुवा करिब ५ देखि ६ महिनाको रहेको र पूर्ण रूपमा स्वस्थ भएपछि जिल्लाको ग्वाल्लेक क्षेत्रमा छोडिने योजना रहेको उनले बताए । 

बैतडीमा बँदेललगायत जंगली जनावर नियन्त्रण गर्न थापिएको पासोमा चितुवा फस्ने घटना बढ्दै गइरहेका छन् । यस्ता घटना वन्यजन्तुको सुरक्षाका लागि गम्भीर समस्या उत्पन्न गरिरहेकाले वन कार्यालयले स्थानीयलाई वन्यजन्तुको रोकथामका लागि सुरक्षित र वैकल्पिक तरिका अपनाउन आग्रह गर्दै आएको छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully