बझाङ — १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । छबिसपाथीभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले छबिसपाथीभेराको भाँडेबगर बजारमा गाडी कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा पुर्याइदिने बहानामा बलात्कार गरेको प्रहरीले बताएको छ ।
‘धनगढीबाट आएकी ती किशोरी शनिबार साँझ भाँडेबगरमा गाडी कुरिरहेकी रहिछन्,' जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख लोकेन्द्र ठकुन्नाले भने, ‘एक्लै देखेपछि म पुर्याइदिन्छु भन्दै मोटसाइकलमा ल्याएर केही पर एकान्त ठाउँमा पुर्याएपछि जबरजस्ती करणी गरेको देखिन्छ ।'
शनिबार साँझ ७:३० बजेतिर उक्त घटनाको जानकारी प्राप्त भएको र तत्काल अभियुक्तलाई पक्राउ गरिएको उनले बताए । पीडित युवती जयपृथ्वी नगरपालिकाकी भएको र यो विषयमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
