अछामको ढकारीमा दुई किशोरी मृत फेला

माघ १२, २०८१

मेनुका ढुंगाना

Two teenage girls were found dead in Achham's Dhakari

अछाम — अछामको ढकारी गाउँपालिका–८ घोडासैनका २ जना किशोरी मृत फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । मृतक किशोरी एकै घरका फुपू, भदै नाता पर्ने उनले बताए । 

प्रहरी प्रमुख भण्डारीका अनुसार सरस्वती र ईश्वरी शुक्रबार गाईवस्तु चराउन सँगै जंगल गएका थिए । साँझसम्म पनि उनीहरु घरमा नआएपछि परिवारले खोजी गरिरहेको थियो । प्रहरीमा भने खबर भएको थिएन ।

‘आज (शनिबार) पनि साँझ ६ बजेपछि मात्रै शव फेला परेको खबर हामीले पाएका हौं । किशोरी हराएको र खोज्नु पर्ने खबर हामीलाई यसअघि आएको थिएन,’ प्रहरी प्रमुख भण्डारीले भने, ‘आज रातिको समय भएकाले घटनास्थलको सुरक्षा मात्रै गर्न सकिने अवस्था छ । यसका लागि आवश्यक प्रहरी घटनास्थल पठाइएको छ । आइतबार बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जान्छौं ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully