काठमाडौँ — सोमबार सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा प्रदेशसभा सचिवालयले प्रदेश प्रमुख, मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, मन्त्रीहरु, सांसद र पूर्व सांसदहरुलाई निम्त्याएको थियो । उक्त कार्यक्रम प्रदेशसभाको आठौं वर्ष प्रवेशको उत्सव भए पनि शुभकामना आदानप्रदान, विगत र वर्तमानको समीक्षा तथा आगामी दिनका प्राथमिकताका बारेमा धारणाहरु व्यक्त गर्नुभन्दा पनि मुख्यमन्त्री कमलबहादुर शाहसहित प्रमुख वक्ताहरुले लामोलामो भाषणसहित एकले अर्कालाई घोचपेच गरे ।
लाग्थ्यो कार्यक्रम उत्साहको दिवस नभई नेताहरुले एकअर्कालाई ‘कटाक्ष’ गर्ने कार्यक्रमका रुपमा प्रयोग गरेको धेरैको टिप्पणी सुनिन्थ्यो ।
माओवादीको नेतासमेत रहेका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट, एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, एकीकृत समाजवादी संसदीय दलका नेतासमेत रहेको पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी र वर्तमान मुख्यमन्त्री शाहले जमेरै एकअर्काप्रति कटाक्ष गरेका थिए । एकले अर्कालाई बेस्सरी आरोप-प्रत्यारोप लगाए । प्रदेश प्रमुख नजिर मियाँले समेत घुमाउरो ढंगले सरकारका कामहरु प्रभावकारी हुन नसकेको गुनासो गरे ।
सोमबारको कार्यक्रम मात्रै होइन, अक्सर सबै पार्टीका आपसमा भेट भयो कि कटाक्ष गरिहाल्ने नेताहरुको प्रवृति हो । सोमबार निकै धेरै आरोप-प्रत्यारोपमा उत्रिएका पूर्व र वर्तमान मुख्यमन्त्रीहरु सभामुखसहित मंगलबार बिहान ‘लन्च’ मिटिङमा बसे । मुख्यमन्त्री शाहले आफ्नै निवासमा तीनै जना पूर्वमुख्यमन्त्री र सभामुख भीमबहादुर भण्डारीलाई निम्त्याएर मन माझामाझ गरे । विकासका सवालहरुमा विभाजित हुन नहुनेमा जोड दिए ।
सम्भवतः पहिलो पटक हालसम्मका मुख्यमन्त्रीहरु अनौपचारिक तवरले त्यसरी एकै ठाउँमा जुटेका थिए । सभामुख भण्डारीका अनुसार प्रदेश विकासका समग्र सवालमा छलफल गर्ने उद्देश्यले उनीहरुबीच भेटघाट भएको हो ।
छलफलका क्रममा उनीहरुबीच प्रदेश संरचनालाई मजबुत बनाउन साझा ढंगले भूमिका निर्वाह गर्नुपर्ने समझदारी भएको पूर्वमुख्यमन्त्री दीर्घ सोडारीले बताए । ‘प्रदेश राजधानीको टुंगो लगाएर अघि बढ्ने, विकास खर्च बढाउने, कर्मचारी यन्त्रको चुस्त परिचालन लगायतका समसामयिक विषयमा छलफल भयो,’ पूर्व मुख्यमन्त्री सोडारीले भने ‘पहिलो पटक यसरी छलफल भएको हो ।’
सभामुख भण्डारीले प्रदेशसभालाई प्रभावकारी बनाउन आवश्यक परामर्शसहित साझा समझदारी बनाउने सन्दर्भमा पनि साझा धाराण बनेको बताए । संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका अनुभव र सिकाईहरु सुन्ने कार्य मुख्यमन्त्री शाहको पहल सकारात्मक पहल भएको बताए । ‘संघीयतामाथि उठेका प्रश्न र राजनधानीको टुंगो लगाउने विषयमा मुख्य छलफल भएको हो,’ भट्टले भने ‘सोमबारको घोचपेचले सबैलाई गम्भिर बनायो जस्तो लाग्यो ।’
