बझाङ — देशका ७५३ वटै स्थानीय तहमध्ये ढिलो गरी बैंक स्थापना भएको साइपाल गाउँपालिकाका स्थानीय अब बैंकिङ च्यानलमा जोडिन थालेका छन् । पालिकाको दुर्गम भेगमा बसोवास गर्ने स्थानीयको बैंक खाता खोल्न घरदैलो कार्यक्रम संचालन गरेपछि उनीहरू बैंकिङ च्यानलमा जोडिन थालेका हुन् ।
गत असोज ९ गतेबाट मात्रै साइपालमा सेवा दिन सुरु गरेको एभरेस्ट बैंक र साइपाल गाउँपालिकाले स्थानीयको आर्थिक कारोबार व्यवस्थित गर्नका लागि उत्तरी क्षेत्रका गाउँमा घरदैलो कार्यक्रम गरेर खाता खोल्ने अभियान सुरु गरेको हो ।
गाउँपालिका र बैंकबीच यसअघि नै सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी सम्झौता भइसकेको छ, सम्झौता अनुसार पहिलो चरणमा सम्पूर्ण लाभग्राहीको खाता खोल्ने कार्यक्रम सञ्चालन भएको हो । फोटो खिच्ने र प्रिन्ट गर्ने उपकरणसहित घरदैलोमा गएको टोलीले उत्तरी क्षेत्रमा पर्ने जिमा, लासी, जगेरा, बलौडी र न्युनामा गाउँमा खाता खोल्न आठ दिनदेखि घरदैलो गरिरहेको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई लक्षित गरेर संचालन गरिएको यो अभियानमा अरु इच्छुक स्थानीयहरूको पनि बैंक खाता खोल्ने काम भएको एभरेस्ट बैंकका कर्मचारी हरिश अवस्थीले बताए । ‘हाम्रो मुख्य उद्देश्य भनेको सामाजिक सुरक्षा भत्ता पाउनेहरूलाई घरमै गएर खाता खोल्ने भन्ने थियो । यस क्रममा खाता खोल्न इच्छुक अन्यको पनि साधारण वचत खाता खोल्ने काम भएको छ,’ उनले भने, ‘कुनै ठाउँमा एक घरबाट अर्को घर पुग्न पनि एक डेढ घण्टा हिँड्नु पर्छ । बैंक भएको ठाउँ (धलौन) पुग्न त एक दिनै हिँड्नु पर्ने भएकाले घरमै गएर खाता खोल्ने व्यवस्था गरेका हौं ।’ अहिलेसम्म आठ दिनको घरदैलो अवधिमा करिब नौ सय व्यक्तिको बैंक खाता खोल्ने काम भएको उनले जानकारी दिए । 
दुर्गम ठाउँमा घरमै बैंक खाता खोल्न पाउँदा खुसी लागेको स्थानीयले बताएका छन् । ‘म त आजसम्म चैनपुर पनि गएकी छैन । बैंक पनि देखेकी थिइनँ,’ बलौडी गाउँकी ७२ वर्षीया रूपादेवी बोहराले भनिन्, ‘मेरो नाममा बैंक खाता होला भनेर त झन् सोचेकी थिइनँ ।’ उनले आफ्ना नाममा खाता हुँदा सामाजिक सुरक्षा भत्ताबापतको पैसा बैंकमा सुरक्षित हुने र व्याज पनि आउने भएकाले खुसी लागेको बताइन् ।
घरदैलोका क्रममा खाता खोल्ने मात्रै नभएर बैंकिङ शिक्षा दिने काम पनि भएको एभरेस्ट बैंकको साइपाल शाखा प्रमुख रामकृष्ण थापाले बताए । ‘अहिलेसम्म बैंक नपुगेको ठाउँ भएका कारण यहाँका धेरै मानिसहरूमा बैंकिक शिक्षाको ठूलो अभाव छ भन्ने हामीले सुरुमै थाहा पाएका थियौं,’ उनले भने, ‘घरदैलोका क्रममा हामीले बैंकमार्फत कारोबार गर्दा हुने फाइदाका बारेमा पनि स्थानीयलाई शिक्षा दिएका छौं ।’ उनले वडा नं. ४ धुलीमा भाषा समस्याका कारण बैंकिङ शिक्षा दिन समस्या भएको र अन्त्यमा दोभाषेसमेत प्रयोग गर्नुपरेको बताए । धुलीका स्थानीयले यहाँ मात्रै बोलिने लोपोन्मुख धुलेल भाषा र केहीले तामाङ भाषा बोल्ने गर्दछन् ।
सामाजिक सुरक्षा पाउने लाभग्राहीको बैंक खाता नहुँदा पालिकाका कर्मचारीहरूले ठूलो रकम बोकेर गाउँगाउँ जानु पर्ने र त्यसो गर्दा जोखिम हुने गरेको बताउँदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले अब त्यो समस्या नहुने बताए । ‘एकातिर रकम लुटिन्छ कि कतै हराउँछ कि भनेर हामीले डराउनु पर्ने, अर्कोतिर हातमै नगद हुँदा लाभग्राहीको रकम पनि सुरक्षित नहुने समस्या थियो,’ उनले भने, ‘सबैको बैंक खाता खोलेर बैंकिङ कारोबारमा जोडेपछि सबैलाई राम्रो हुन्छ ।’
