डोटी — बोगटान फुड्सिल गाउँपालिका–२ घाटहाल्नामा आगलागीबाट ठूलो क्षति भएको छ। शुक्रबार साँझ करिब ७ बजे भीमबहादुर बोहराको खरले छाएको एकतले घरमा खाना पकाउने क्रममा आगलागी भएको हो।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । घरभित्र रहेका भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडा, काठका फर्निचरलगायतका सामग्री जलेर करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
घटनाको जानकारी पाउनेवित्तिकै प्रहरी चौकी चमरा चौताराबाट प्रहरी सहायक निरीक्षक मोहन सिंह धामीको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल चौकीबाट करिब २४ किलोमिटर पूर्व पर्छ।
सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि घर पूर्ण रूपमा जलेको थियो। घटनामा कुनै मानवीय क्षति र चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले घरमा खाना पकाउने क्रममा आगलागी भएको अनुमान गरेका छन् । थप अनुसन्धान भइरहेको छ ।
