६ दिनपछि महाकाली लोकमार्ग सञ्चालनमा

पुस २०, २०८१

मनोज बडू

After 6 days, Mahakali Lokmarg is operational

दार्चुला — लगातार ६ दिनदेखि अवरुद्ध रहेको महाकाली लोकमार्ग शनिबार साँझदेखि सञ्चालनमा आएको छ । महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडकअन्तर्गत किम्तडीस्थित ठड्याकाठा भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने क्रममा सडक अवरुद्ध भएको थियो ।

दिनरात कटिङ् गरेर छैटौं दिन उक्त क्षेत्रमा साना/ठूला गाडी पास हुने गरी सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । किम्तडी र खलंगामा रोकिएका सवारी साधन शनिबार साँझदेखि आवतजावत सुरु भएको हो ।

दार्चुला सदरमुकाम खलंगा नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीस्थित ठड्याकाठा भीरमा सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती खेपिरहेका थिए । सडक कटानका क्रममा खसेको पहिरो पन्छ्याएर शनिबारदेखि आवतजावत खुल्ला गरिएको हो । 

‘उक्त क्षेत्रमा चट्टान कटिङ कार्य सकिएको छैन,’ निर्माण व्यवसायी सुरेन्द्र बमले भने, ‘अहिले यताउति रोकिएका सवारी साधनलाई पास गराउनसम्म सडक सुचारु गरिएको हो ।’ आइतबारबाट निर्माण जारी रहने हुँदा आंशिक रुपमा सडक अवरुद्ध हुने उनको भनाइ छ । 

पुस १५ देखि जिल्लाको मुख्य राजमार्ग नै अवरुद्ध भएपछि यात्रुहरू किम्तडीका अप्ठ्यारो भीर चढेर पैदल हिँड्न बाध्य भएका थिए । जिल्ला सदरमुकामसित जोडिएको मुख्य राजमार्ग नै अवरुद्ध हुँदा विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई हिँड्डुल गर्न झनै समस्या भइरहेको थियो । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully