दार्चुला — जिल्ला सदरमुकाम खलंगा जोड्ने मुख्य सडक महाकाली नगरपालिका–५ किम्तडीस्थित ठड्याकाठा भिरमा सडक अवरुद्ध भएको चार दिन पुगेको छ । सडक कटानका क्रममा सोमबार बिहान खसेको पहिरो अहिलेसम्म नपन्छाउँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।
जिल्लाको प्रमुख महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडक खण्डको ठड्याकाठा भिरमा पहिरो खस्दा चार दिनदेखि सडक अवरुद्ध रहेको छ । यतिका दिनसम्म पहिरो नपन्छाउँदा सवारी साधनलाई पूर्ण रूपमा बन्द रहेको हुनाले स्थानीयवासी आवतजावतमा सास्ती भोग्दै आएका छन् ।
जिल्लाको मुख्य राजमार्ग नै अवरुद्ध भएपछि यात्रुहरू पैदल हिड्न बाध्य भएका छन् । सडक चौडा पार्नका लागि किम्तडी ठड्या भिर कटान चलिरहेको ठाउँमा १५ गतेदेखि अवरुद्ध सडक यतिका दिनसम्म नखुल्दा स्थानीयले साह्रै दुःख झेल्नुपरेको किम्तडीका स्थानीय दशरथ बडूले बताए । उनले मुख्य राजमार्ग नै अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्न बाध्य भएका छन् । चार दिनसम्म सडक सुरु नहुँदा मालवाहक सवारी किम्तडी र खलंगामा रोकिएका छन् ।
त्यस्तै सडक अवरुद्ध हुँदा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरूलाई थप उपचार गराउनु परे धनगढी महेन्द्रनगर जान समस्या भएको छ । चार दिनसम्म अवरुद्ध सडक सञ्चालनमा सरकारी निकाय उदासीन रहेको स्थानीयको भनाइ छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले अवरुद्ध सडक आज साँझ वा भोलिसम्म सञ्चालन हुने सम्भावना रहेको बताएका छन् ।
कतिपय मानिसहरू ठड्या भिरमा बाटो अवरुद्ध हुँदा तराई तथा काठमाडौं जाने यात्रुहरू भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् ।
