दार्चुलामा एम्बुलेन्स दुर्घटना, गम्भीर घाइते चालक भारत रिफर

पुस १६, २०८१

मनोज बडू

Ambulance accident in Darchula, driver seriously injured India Ref

दार्चुला — सोमबार राति ब्यास गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ । ब्यास–३ गल्था नजिक एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार ब्यास गाउँपालिका सुन्सेराको सुदूरपश्चिम प्रदेश ०१००१ च ३८३० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक बिरा डडाल घाइते भएका छन् । गाउँपालिकाको केन्द्र सुन्सेराबाट आफ्नो घर गल्था जाने क्रममा एम्बुलेन्स तिंकर सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो । 

घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि उनलाई भारतको पिथौरागढ रिफर गरिएको ब्यास गाउँपालिकाले जनाएको छ । 

एम्बुलेन्स गाउँपालिकालाई नेपाल रेडक्रस सोसाईटीले अनुदानमा उपलब्ध गराएको हो ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully