अछाममा मरेको बोइलर कुखुराको मासु खाँदा एकको मृत्यु

पुस १४, २०८१

मेनुका ढुंगाना

One dies after eating dead boiler chicken in Achham

अछाम — अछाममा बोइलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जना बिरामी भएका छन् । 

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार कमलबजार नगरपालिका–३ बयालाका तुलासिंह विकका १४ वर्षीय छोरा कमल विकको मृत्यु भएको हो ।

शुक्रबार साँझ नजिकैको मासु पसलबाट मरेको कुखुरा ल्याएको र शनिबार बिहानदेखि मासु खाएका सबै परिवारमा स्वास्थ्य समस्या देखिएपछि प्रहरीको सहयोगमा जिल्ला अस्पतालसम्म पुर्‍याएको उनले बताए । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट अन्य कुखुराको परीक्षण गर्न पनि पहल भएको भण्डारीले बताए । ‘ प्रारम्भिक अनुसन्धानबाट फुड पोइजनको कारण मृत्यु भएको र सोही कारण बिरामी भएको हुन सक्ने देखिएको छ । सबै स्वास्थ्य रिपोर्ट आइसकेको छैन,’ प्रहरी प्रमुख भण्डारीले भने ।

मृतककी हजुरामा ७० वर्षीया नाम विक, बहिनी १४ वर्षीया सिता विक र ९ वर्षीय विकास विकको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला अस्पताल अछामकी सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत गंगा बुढामगरले बताइन् । 

‘मरेको कुखुराको मासु खाने एक जनाको मृत्यु भइसकेको छ । तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ,’ उनले भनिन् ,‘हजुरामा र नातीनीको अवस्था भने गम्भीर छ । भोलि (सोमबार) बिहानसम्म पनि स्वास्थ्य अवस्थामा सुधार भएन भने अन्तै रेफर गर्नु पर्ने देखिन्छ ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully