धनगढी — कैलालीको चिसापानीमा पाँचतारे होटलसहित निर्माण गर्न लागिएको केबलकार परियोजनाको शनिबार एक समारोहकाबीच शिलन्यास गरिएको छ । चिसापानीमा निर्माण हुन लागेको सुदूरपश्चिमकै पहिलो केबलकार हुनेछ ।
केबुलकार निर्माण परियोजनाको शिलान्यास परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेकी हुन् । जाल्पादेवी केबलकारका नामले निर्माण हुन लागेको उक्त केबलकार तीन किलोमिटर लम्बाइमा चिसापानीदेखि राजकाँडासम्म निर्माण हुने भएको छ ।
व्यवसायी चन्द्रप्रसाद ढकाल र कैलालीका उद्यमी सूर्यबहादुर थापाको संयुक्त लागनीमा निर्माण हुन लागेको उक्त परियोजनाअन्तर्गत पाँच तारे होटल लगायतका पूर्वाधारहरुसमेत निर्माण गरिन लागेको सञ्चालकले जनाएका छन् ।
केबलकार लगायतका पर्यटन पूर्वाधारले सुदूरपश्चिमको पर्यटन क्षेत्रले फड्को मार्ने जाल्पादेवी केबलकारका सञ्चालक ढकालले बताएका छन् । शिलान्यास कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह लगायतको उपस्थिति रहेको थियो ।
करिब सात अर्ब लगानीमा चिसापानीमा निर्माण हुन लागेको उक्त परियोजनाअन्तर्गत पाँचतारे होटलसमेत निर्माण हुने भएको छ । परियोनजा एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
