जिन्दगी घिसार्दै नरबहादुर

‘छरछिमेकी, नेता, जनप्रतिनिधिदेखि पत्रकारसम्म आएर पीडा र व्यथा सोध्छन्,’ उनी भन्छन्, ‘गुम्सिएका व्यथा सुनाएर के गरौं, जे छ मनमै छ, गुम्स्याएर राख्नुमै चित्त बुझाउँछु ।’

पुस ११, २०८१

मोहन शाही

Nar Bahadur dragging his life

खत्याडी, डोटी — बोगटान फुडसिल गाउँपालिका–७ खत्याडीका नरबहादुर बोहरा पूर्ण अशक्त छन् । उनका दुवै हातका औंला पन्जासहित बाउँडिएका छन् भने मसिना खुट्टा विपरीत दिशातर्फ मोडिएका छन् । हातगोडा घिसारेरै उनको दैनिकी चल्छ । जुन दिन घिस्रिन सक्दैनन्, उनको दिनचर्या त्यहीँ रोकिन्छ ।

 ‘छरछिमेकी, नेता, जनप्रतिनिधिदेखि पत्रकारसम्म आएर पीडा र व्यथा सोध्छन्,’ उनले भने, ‘गुम्सिएका व्यथा सुनाएर के गरौं, जे छ मनमै छ, गुम्स्याएर राख्नुमै चित्त बुझाउँछु ।’

नरबहादुरका छिमेकी हुन् देवबहादुर बम । अशक्त भए पनि नरबहादुर पढाइमा जेहेन्दार रहेको बम बताउँछन् । ‘आफू ४ कक्षामा पढ्दा पढ्दै कक्षा ३ सम्मकालाई ट्युसन पढाउने मान्छे हुन् उनी,’ बमले भने, ‘अक्षर पनि कम्प्युटरमा छापेजस्तै लेख्थे तर दुर्भाग्य ५ कक्षाभन्दा माथि पढ्न पाएनन् ।’

गाउँमा पढेलेखेका व्यक्ति नभएका बेला नरबहादुरले विभिन्न विद्यालयका विद्यार्थीलाई पढाए । गुरुदेव प्रावि दमौलीमा ४ वर्ष, सुनपाली प्रावि बडीकेदारमा डेढ वर्ष, खत्याडी माविमा केही वर्ष पढाएको पनि उनीसँग अनुभव छ । बिस्तारै विद्यालयका कोर्सहरू परिवर्तन हुँदै गए, विभिन्न नीति नियम बन्दै गएपछि उनले शिक्षण पेसा छोड्नु पर्‍यो । Nar Bahadur dragging his life

५२ वर्षीय नरबहादुरले एक वर्षको उमेरमै बुवा गुमाए, १७ वर्षको उमेरमा आमा । ४ दाजुभाइमध्ये उनी कान्छा हुन् । एक बहिनी छन् । उनका २ दाजु बितिसके । अहिले उनी जेठी भाउजूको सहारामा बसेका छन् । 

अविवाहित नरबहादुर आफूले सकेजति एकल भाउजूलाई घरमा सहयोग गरिरहेको बताउँछन् । सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट उनले भाउजू र भतिजीको रासनपानी चलाउँदै आएको सुनाए । सकी–नसकी उनी परिवारमा गाह्रो पर्दा खाना पकाउन पनि सहयोग गर्छन् । हात–खुट्टाले घिस्रँदै घर नजिकैको खत्याडी बजारसम्म पुगेर किनमेल गर्ने गरेको उनले सुनाए । 

‘मन त कहाँ-कहाँ उड्छ, आम मानिसहरूजस्तै हिँड्न सके हुन्थ्यो भन्ने लाग्छ, मिठोमसिनो खान मन लाग्छ,’ नरबहादुरले भने, ‘त्यो असम्भव छ । तर, मनले मान्दैन । मेरा पीडा मनभित्रै छन्, मनभित्रै रहने भए । धेरै नकोट्याउनूस् ।’

सानोमा आफूमा पढ्ने हुटहुटी धेरै नै रहेको उनले सुनाए । उनी घिस्रिएरै विद्यालयसम्म पुग्थे । सहज थिएन उनलाई विद्यालयसम्म पुग्न । तर, पनि उनी जसोतसो विद्यालय पुग्थे । वर्खाको पानीले खोलेका खोल्साखोल्सी र उकालो–ओरालो गरेर उनी नियमित विद्यालयसम्म जान्थे र फर्किन्थे ।

घरबाट झन्डै एक किलोमिटर टाढा रहेको विद्यालयसम्म पुगेर उनले कक्षा ५ सम्म पढे । ‘सक्दैनस्, बिचरा छस् भनेर विद्यालय पठाउनै चाहँदैनथे,’ उनले भने, ‘परिवारसँग विद्रोह गरेर पढ्न जान थालेको थिएँ । तर, विद्यालय शिक्षककै कारण पढाइ रोकियो ।’ 

एक दिन कक्षा ५ को अन्तिम परीक्षा दिने बेला उनले शिक्षकलाई बाध्यता सुनाए । आफ्ना हातखुट्टा अशक्त हुँदा निर्धारित समयमै परीक्षामा लेख्न सहयोगी साथी दिनु पर्ने प्रस्ताव राखे । त्यसदिन ती शिक्षकले लगाएको कटु वचन सुनेपछि त्यसपछि कहिल्यै विद्यालयको आँगन नटेकेको उनले सुनाए । 

विद्यालयमा पढ्ने सपना तिनै शिक्षकको वचनले रोकिएको पनि उनले सुनाए । ‘मलाई अशक्त भएकामा त्यति ग्लानि थिएन तर जुन दिन ती शिक्षकले ‘तँ जस्तालाई केका लागि सहयोग चाहियो ?’ भनेर जवाफ लगाए मेरो त मुटु नै छेडिएजस्तो भयो,’ गहभरि आँसु बोहराले भने, ‘त्यस दिनबाट यो संसारमा पाएका जे जति वेदना छन्, ती मभित्रै छन् । कसैलाई सुनाएर हुनेवाला केही छैन भन्ने लाग्न थाल्यो ।’ 

शारीरिक अशक्त भएकाले विद्यालय गएर के गर्छौं भनी परिवार र समाजका व्यक्तिहरूले रोक्न खोजे पनि उनले भगवान्‌सरह मानेका शिक्षकबाट पाएको कटुवचन अहिले पनि आफ्नो छातीमा खिल बनेर गडेको सुनाए ।

मोहन

Link copied successfully