धनगढी — सुदूरपश्चिम प्रदेश सभाको बैठक नबसेको तीन महिना बित्यो । असोजको दोस्रो सातादेखि बैठक बसेको छैन । सामान्यतः यो विधेयक निर्माणको बेला हो । तर प्रदेश सभा बैठक मात्रै होइन, संसदीय समितिहरूका बैठक पनि नियमित छैनन् ।
सत्ता साझेदार दलहरूबीचको भागबण्डाले प्रदेश सभा र प्रदेश सरकारको गतिलाई प्रभावित गरेको प्रदेश सभा सदस्यहरू बताउँछन् । चार वटा संसदीय समिति रहेको सुदूरपश्चिम प्रदेश सभामा तीनवटा समिति लामो समयदेखि नेतृत्वविहीन छन् ।
सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहीन छन् । विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा भने कांग्रेसका दिवानसिंह विष्ट छन् ।
समितिहरूमा नेतृत्व नै नभएपछि समिति लगभग निष्क्रिय झै रहेको प्रदेश सांसद ओमविक्रम भाटले बताए । सत्ता साझेदार दलभित्र आफैंमा कुरा नमिलेर अलमल भइरहेको उनको भनाइ छ ।
यसअघि सार्वजनिक लेखा समिति सभापतिमा एमालेका वीरबहादुर थापा र सामाजिक विकास समितिको सभापतिमा एकीकृत समाजवादीकी माया पन्त र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी थिए । उनीहरू तीनै जना अलग–अगल समयमा मन्त्री भएपछि ती समिति नेतृवविहीन भएका हुन् । सभापति रहेको सांसद मन्त्री नियुक्त भएपछि समितिको सभापति त्याग्नुपर्ने प्रावधान रहेको छ ।
सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस र सत्ता सहयात्री दल एमालेबीच समझदारी नहुँदा समितिहरू नेतृत्वविहीनताको अवस्थामा रहेको प्रदेश सांसदहरू बताउँछन् । ‘नागरिक उन्मुक्तिसहित तीन दलको संयुक्त सरकार छ । एमालेले दुईवटा समितिको नेतृत्व दाबी गरिरहेको छ । सबैभन्दा ठूलो दल कांग्रेसलाई एउटा समिति मात्रै दिनुपर्ने एमालेको भनाइका कारण कुरा मिलिरहेको छैन,’ नेपाली कांग्रेसका एक प्रदेश सांसदले भने, ‘कांग्रेस र एमालेबीचको सत्ता सञ्चालन व्यवहारमा त झन् कठिन पो भइरहेको देखिन्छ ।’
प्रदेश सभाका संसदीय समितिमा नेतृत्वको भागबण्डा मात्रै होइन, प्रदेश सरकारले नियुक्त गर्ने अन्य निकायमा पदाधिकारीहरूको राजनीतिक नियुक्तिमा पनि प्रदेश सरकारलाई सकस देखिएको छ ।
हाल प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्षसहित सदस्यहरूको पद रिक्त छ । यस्तै, प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति, प्रदेश युवा परिषद्, प्रदेश लोकसेवा आयोग, चारवटा पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति, प्रादेशिक अस्पताल विकास समिति, जिल्लाका अस्पताल विकास समितिहरूमा प्रदेशले नियुक्त गर्ने पदाधिकारीको म्याद केही महिनामै सकिँदैछ । रिक्त हुने निकायमा पदाधिकारी नियुक्त गर्न कांग्रेस र एमालेबीच रस्साकसी सुरु भएको एक प्रदेश सांसदले बताए ।
यसै साता मुख्यमन्त्री निवासमा सत्तारुढ कांग्रेस र एमालेका नेताहरूको बैठक बसेको थियो । एमालेका सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्जको संयोजकत्वमा कांग्रेसका प्रदेश सभापति बीरबहादुर बलायर, एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, कांग्रेसका प्रदेश उपसभापति लोकराज अवस्थी र मुख्यमन्त्री कमलबहादुर शाह सम्मिलित बैठकले प्रदेश सरकारअन्तर्गत गर्नुपर्ने नियुक्तिहरू चाँडो गर्ने निर्णय गरेको थियो । तर मुख्यमन्त्री शाहले भने, ‘निर्णय त भयो तर सुरसार केही छैन ।’
